खाेज्नुहाेस

कैलालीका स्थानीय तहमा बढ्दैछ आन्तरिक राजस्व, दायरा बिस्तार प्राथमिकतामा

Image
कैलालीका नगरपालिकाहरुको आन्तरिक आम्दानी

कैलाली – कैलालीको गैरीगंगा नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा ४ करोड ६ लाख रुपैयाँ आन्तरिक आम्दानी गरेको छ । जुन आर्थिक वर्ष २०८०/०८१ को तुलनामा ४१ लाख ७६ हजार १८५ रुपैयाँले बढी हो । नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा ३ करोड ६४ लाख २३ हजार ८१५ आन्तरिक आम्दानी गरेको थियो । आर्थिक वर्ष २०७९/०८० मा २ करोड ८ लाख ६९ हजार ३९९ रुपैयाँ आन्तरिक आम्दानी गरेको थियो । यस्तै आर्थिक वर्ष २०७८/०७९ मा १ करोड ७६ लाख ९३ हजार रुपैयाँ मात्रै आन्तरिक आम्दानी भएको थियो । पछिल्लो ४ आर्थिक वर्षमा गौरीगंगामा पछिल्ला दोब्बर बढीले आन्तरिक आम्दानी बढेको देखिन्छ ।

attariya hospital

नगरप्रमुख देवी दत्त कँडेलले नगरपालिकालाई आत्मनिर्भर बनाउन पछिल्लो समय करका दायरा बढाएर आन्तरिक आम्दानी बढाउँदै लगेको बताए । उनका अनुसार पछिल्लो समय नगर भित्रका व्यवसायीलाई करको दायरामा ल्याउने क्रमलाई तिव्रता दिइएको छ । ‘हामीले कर बढाएका छैनौ । करको दायरमा नआएका व्यवसायीहरूलाई करको दायरामा ल्याएपछि आन्तरिक आम्दानी बढ्दै गएको छ’ उनले भने ‘नगरको आन्तरिक श्रोतका रूपमा ताल तलैयाबाट उठाउने कर, निकासी कर, नदीजन्य पदार्थको रोयल्टी सङ्कलन रहेका छन् ।’

गौरीगंगा जस्तै कैलालीकै लम्किचुहा नगरपालिकाले पनि आन्तरिक आम्दानी बढाउँदै लगेको छ । आर्थिक वर्ष २०७८/०७९ मा ५ करोड २५ लाख ९९ हजार ६०६ रुपैयाँ आन्तरिक आम्दानी गरेको नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा आन्तरिक आम्दानी बढाएर ८ करोड १८ लाख ३५ हजार ८१० रुपैयाँ पुर्‍याएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा आन्तरिक आम्दानी घटेर ६ करोड ६१ लाख ९६ हजार पुगे पनि आर्थिक वर्ष २०८१/०८२ मा दोब्बर बढेर १२ करोड ५७ लाख ६४ हजार पुगेको छ ।

नगरपालिकाको राजश्व शाखा प्रमुख जीवन न्यौपानेले आन्तरिक आम्दानीका मुख्य श्रोत नदीजन्य पदार्थको रोयल्टी सङ्कलन, सम्पत्ति कर, घर बहाल कर रहेको बताए । उनले सम्पत्ति कर, मालपोत करलाई सूत्र प्रणाली मार्फत सङ्कलन गरेपछि व्यवस्थित बनेको बताए । उनले कुल आम्दानीको ७५ प्रतिशत नदीजन्य पदार्थको रोयल्टी सङ्कलनबाट आम्दानी भएको बताए ।

आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक आम्दानी कम हुनुको कारण भने नदीजन्य पदार्थको रोयल्टी रकम १ करोड ८२ लाख साउनको पहिलो साता जम्मा हुँदा आर्थिक वर्ष २०८१/०८२ मा जोडिएको उनले बताए । उनले पालिकाको आन्तरिक आम्दानी भने निरन्तर बढिरहेको बताए । घरको मूल्याङ्कन अनिवार्य गरिएपछि पनि आन्तरिक आम्दानी बढेको उनको भनाइ छ ।

घोडाघोडी नगरपालिकाले पनि पछिल्लो ४ आर्थिक वर्षमा आन्तरिक आम्दानी बढाउँदै लगेको छ । आर्थिक वर्ष २०७८/७९ मा १ करोड ८६ लाख ८४ हजार १३ रुपैयाँ आन्तरिक आम्दानी गरेको नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा २ करोड ९७ लाख ५ हजार १५७ रुपैयाँ आन्तरिक आम्दानी गरेको थियो भने आर्थिक वर्ष २०८०/८१ मा ३ करोड ४० लाख ४९ हजार ७७६ रुपैयाँ आन्तरिक आम्दानी गरेको छ । यस्तै आर्थिक वर्ष २०८१/०८२ मा ४ करोड ५९ लाख ०४ हजार ४८३ रुपैयाँ आन्तरिक आम्दानी गरेको नगरपालिकाको राजश्व शाखा प्रमुख हरिस चन्द्र धामीले बताए । उनले नगरको मुख्य आम्दानीको श्रोत नदीजन्य पदार्थ रहेको बताए ।

सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरी नगरपालिका र अस्थायी राजधानी रहेको धनगढी उपमहानगरपालिकाले पनि आन्तरिक आम्दानी बढाउँदै लगेका छन् । गोदावरी नगरपालिकामा पछिल्लो तीन आर्थिक वर्षमा आन्तरिक आम्दानी झन्डै दोब्बर वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/०८० मा नगरपालिकाको आन्तरिक आम्दानी ९ करोड ९२ लाख २१ हजार ८०१ रहेकोमा आर्थिक वर्ष २०८०/०८१ मा बढेर १३ करोड ७२ लाख ३६हजार ४३१ पुगेको छ भने आर्थिक वर्ष २०८१/०८२ मा आम्दानी बढेर १७ करोड ५५ लाख ७१ हजार ६५४ पुगेको छ ।

धनगढी उपमहानगरपालिकाले पनि आर्थिक वर्ष २०७८/०७९ को भन्दा आर्थिक वर्ष २०८०/०८१ मा १४ करोड आन्तरिक आम्दानी बढाएको छ । आर्थिक वर्ष २०७८/७९ मा २२ करोड १९ लाख २२ हजार ५२० रुपैयाँ आन्तरिक आम्दानी गरेको उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा २७ करोड ९२ लाख ४७ हजार ६५० र आर्थिक वर्ष २०८०/०८१ मा ३३ करोड १२ लाख ५२ हजार ४०५ रुपैयाँ आन्तरिक आम्दानी गरेको छ ।

navjiwan hospital

कैलालीको टीकापुर नगरपालिकामा पछिल्लो ४ वर्षमा आन्तरिक आम्दानी थोरै मात्र बढेको छ भने भजनी नगरपालिकामा भने आन्तरिक आम्दानी घटेको छ । टीकापुरमा आर्थिक वर्ष २०७८/०७९ मा ९ करोड २८ लाख ३२ हजार ५५२ रुपैयाँ आन्तरिक आम्दानी हुँदा आर्थिक वर्ष २०७९/०८० मा ८ करोड २४ लाख ९२ हजार ५८३ र आर्थिक वर्ष २०८०/०८१ मा घटेर ६ करोड ४६ लाख ७७ हजार २५ रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८१/०८२ मा भने बढेर ९ करोड ८ लाख ६९ हजार ९०६ रुपैयाँ पुगेको छ ।

राजश्व शाखा प्रमुख नन्द केसीले नगरपालिकाको मुख्य आम्दानीको श्रोत सम्पत्ति कर, सटर भाडा, बहाल कर, पार्कको भाडा रहेको बताए । उनले गत आर्थिक वर्षमा सम्पत्ति करबाट २ करोड ३३ लाख, सटर भाडा ५९ लाख ४० हजार, बहाल कर ८३ लाख ९६ हजार र पार्क भाडाबाट १ करोड ९५ लाख आम्दानी भएको बताए ।

भजनीमा भने आर्थिक वर्ष २०७८/०७९ मा ५ करोड १७ लाख १४ हजार १४२ रुपैयाँ आन्तरिक आम्दानी भएकोमा आर्थिक वर्ष २०७९/०८० मा घटेर २ करोड ११ लाख ४२ हजार ९३३ रुपैयाँ र आर्थिक वर्ष २०८०/०८१ मा १ करोड ९४ लाख ३६ हजार ६७७ मात्रै आन्तरिक आम्दानी भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा भने अघिल्लो आर्थिक वर्षको तुलनामा थोरै आम्दानी बढेर २ करोड ८२ लाख १ हजार पुगेको राजश्व शाखाकी रवीना चौधरीले बताइन् ।

समग्रमा कैलालीका स्थानीय तहहरूले पछिल्ला वर्षहरूमा आन्तरिक आम्दानी बढाउँदै लगेका छन् । सङ्घीय सरकारबाट आउने वित्तीय समानिकरण, अनुदानतर्फको बजेट बर्सेनि काटिएर आउँदा स्थानीय तहहरूले आन्तरिक आम्दानी बढाउन प्रयास गरेको देखिन्छ ।

कैलालीमा रहेका ६ वटा गाउँपालिकाहरूले पनि आन्तरिक आम्दानी बढाउने प्रयास गरेका छन् । ३ करोड भन्दा कम आन्तरिक आम्दानी भएका यी पालिकाहरूमा उल्लेख प्रगति भने गर्न सकेका छैनन् । आर्थिक वर्ष २०७८/०७९ मा १ करोड ३६ लाख ४६ हजार ५५७ रुपैयाँ आन्तरिक आम्दानी गरेको जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा १ करोड ८७ लाख ७२ हजार ९३७ र आर्थिक वर्ष २०८०/०८१ मा २ करोड ९ लाख ८१ हजार ९६३ रुपैयाँ आम्दानी गरेको छ ।

यस्तै मोहन्याल गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा १३ लाख ३८ हजार ३५ रुपैयाँ, आर्थिक वर्ष २०७९/०८० मा २७ लाख ४७ हजार २११ रुपैयाँ र आर्थिक वर्ष २०८०/८१ मा १ करोड १८ लाख ४६ हजार ८१३ आन्तरिक आम्दानी गरेको छ । बर्दगोरीया गाउँपालिका आर्थिक वर्ष २०७८/०७९ मा २ करोड ७ लाख ६९ हजार ४६१ रुपैयाँ, आर्थिक वर्ष २०७९/०८० मा १ करोड ७९ लाख ३७ हजार ७४२ र आर्थिक वर्ष २०८०/८१ मा १ करोड ८५ लाख १४ हजार २८५ रुपैयाँ आम्दानी हुँदा कैलारी गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा २ करोड ८० लाख ९४ हजार ३०९ रुपैयाँ, आर्थिक वर्ष २०७९/०८० मा २ करोड ७ लाख १५ हजार ४१७ रुपैयाँ र आर्थिक वर्ष २०८०/०८१ मा २ करोड ५१ लाख १४ हजार २१० रुपैयाँ आन्तरिक आम्दानी भएको छ ।

यस्तै जोशीपुर गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा १ करोड ४३ लाख ७८ हजार २७२ रुपैयाँ, आर्थिक वर्ष २०७९/०८० मा १ करोड ८८ लाख ३ हजार ६९९ र आर्थिक वर्ष २०८०/८१ मा ७८ लाख ३४ हजार २६९ आन्तरिक आम्दानी भएको छ ।

चुरे गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा २४ लाख ६३ हजार रुपैयाँ, आर्थिक वर्ष २०७९/०८० मा ३० लाख रुपैयाँ र आर्थिक वर्ष २०८०/०८१ मा ७१ लाख ७९ हजार ५७७ रुपैयाँ आन्तरिक आम्दानी गरेको छ ।

गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीले पछिल्ला बर्सहरूमा आफ्नो पालिकामा आन्तरिक आम्दानी बढ्दै गएको भए पनि पर्याप्त भने नभएको बताए । ‘सामुदायिक वनले हामीलाई कर तिर्ने भए २/३ करोड पनि हुन्थ्यो । प्रदेशले सिधै आफै लियो’ उनले भने ‘नदीजन्य पदार्थ भए पनि गौरीगंगा नगरपालिका सँगको सीमाना विवादका कारण रोयल्टी सङ्कलन हुन सकेको छैन ।’ उनले पालिका भित्र रहेको ठूलीगाडमा भने १८ लाखको ठेक्का लागेको बताए । उनले पालिकामा उद्योग, कलकारखाना नभएकाले सामान्य व्यापारिक कर, मालपोत मुख्य आम्दानी रहेको बताए । उनले आर्थिक वर्ष २०८१/०८२ मा ९८ लाख आन्तरिक आम्दानी भएको बताउँदै चालु आर्थिक वर्षमा करोड १५ लाख आन्तरिक आम्दानी पुर्‍याउनले लक्ष्य रहेको बताए ।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ३ को उपदफा ३ ले स्थानीय सरकारलाई २३ वटा शीर्षकमा राजश्व उठाउन सक्ने अधिकार दिएको छ । तर, जिल्लामा रहेका नगर पालिका र सहरी क्षेत्र बढी भएका पालिकाको आन्तरिक आम्दानी बढ्दै गएको भए पनि ग्रामीण क्षेत्र बढी भएका गाउँपालिकाहरूले भने अपेक्षित रूपमा आन्तरिक आम्दानी बढाउन सकेका छैनन् ।