खाेज्नुहाेस

बाजुराको खप्तड छेडेदह गाउँपालिका– २ बालविवाह शून्य वडा घोषणा

Image

बाजुरा– बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर २ लाई बालविवाह शून्य वडा घोषणा गरिएको छ । सोमबार एक औपचारीक कार्यक्रमका बिच वडालाई बालविवाह शुन्य वडा घोषणा गरिएको हो ।

गाउँपालिकाका ७ वटा वडाहरुमध्ये २ नम्बर वडालाई पहिलो बालविवाह शुन्य वडा घोषणा गरिएको गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले जानकारी दिए । उनले पालिकामा बालविवाह न्यूनिकरण गर्ने संकल्प रहेको बताउदै विगतमा कु–प्रथाका रुपमा रहेको बालविवाह अहिले विस्तारै कम भइरहेको बताए ।

attariya hospital
navjiwan hospital

‘बालविवाह न्यूनीकरण गर्दै शून्य घोषणा गर्नुपर्छ भन्ने हाम्रो दृढ संकल्प थियो, त्यो संकल्पको प्रारम्भ भएको छ’ उनले भने ‘अहिले २ नम्बर पहिलो बालविवाह शून्य वडा घोषणा भएको छ, अब हामीले वडालाई सम्मान र पुरस्कृत गर्छाैं ।’ रावतले बालविवाह शून्य घोषणा मात्रै नभइ आगामी दिनमा यसको निरन्तरताको लागि समुदाय, बालक्लव, जनप्रतिनिधि सहित सरोकारवाला निकायले एक जुट भएर लाग्नुपर्ने बताए ।

वडाध्यक्ष भक्त बहादुर बुढाले विगत २ बर्षको अवधिमा वडाका २० वर्षमुनिका कुनै पनि बालबालिकाको विवाह नभएको बताए । उनले अब उपरान्त यसलाई निरन्तरता दिने भनी स्थानीयवासी र सरोकारवालाहरुको प्रतिबद्धतापछि वडालाई बालविवाह शून्य वडा घोषणा गरिएको जानकारी दिए ।

उनले बालविवाहलाई न्यूनीकरण गर्ने उद्देश्यले बालक्लव र महिला विकास मञ्चको महत्वपूर्ण योगदानमा अहिले बालविवाह शून्य वडा घोषणा गर्ने अवस्थासम्म आइपुगेको बताए । त्यस्तै अध्यक्ष बुढाले समुदायको सहयोग विना यो सम्भव नभएको भन्दै सबैको ऐक्यबद्धता र सक्रियतामा बालविवाह शून्य वडा घोषणा गरेको र यसको लागू गर्नका लागि आगामी दिनमा सबैले लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा विभिन्न सचेतामूलक नाटकसहित नृत्य प्रदर्शन समेत गरिएको थियोे । अभियानमा साथ सहयोग र महत्वपूर्ण भूमिका निर्वाह गर्ने समुदाय, बालक्लव, महिला विकास मञ्चलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।