बाजुरा – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेस भित्र देखिएको नेतृत्व–सम्बन्धी होडबाजी र अनावश्यक विवादले पार्टीलाई गलत दिशातर्फ धकेलिरहेको बताएका छन्। बझाङ र बाजुरामा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवालाई निचोडेर वा बाहिर राखेर “नेतृत्व लिन्छु” भन्ने भ्रममा नपरिदिन आग्रह गरे ।

“नेतृत्व कसले लिने ? कसरी लिने ? भन्ने विषयमा होडबाजी नगरौँ। हामी गलत ढङ्गले अगाडि बढिरहेका छौँ,” मुख्यमन्त्री शाहले भने “बिचार मन्थनका लागि स्पष्ट दृष्टिकोण र भिजन दिन महासमिति बैठक अपरिहार्य छ।”
मुख्यमन्त्री शाहका अनुसार पार्टीभित्र वैचारिक तथा सैद्धान्तिक बहसलाई संस्थागत रूपमा अघि बढाउन महासमिति सर्वोत्तम माध्यम हो। भाद्र २३ र २४ का घटनापछि नै महासमिति बैठक बोलिनुपर्नेमा ढिलाइ गरिएको र सभापति देउवामाथिको साङ्घातिक आक्रमणपछि समेत विशेष महाधिवेशनका नाममा हस्ताक्षर अभियान चलाइनु पार्टीलाई विभाजनतिर लैजाने कदम भएको आरोप उनले बताए ।
उनले पूर्व सभापति सुशील कोइरालाको कार्यकालमा समेत पार्टीले आवश्यकता अनुसार संविधान संशोधन गरी कार्यकाल थपेको उदाहरण दिँदै अहिले फेरि पार्टी “गलत बाटोतिर” हिँडिरहेको महसुस गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री शाहले महासमिति बैठकमा निर्वाचनमा जाने कि नजाने, कस्तो निर्वाचन प्रक्रिया अपनाउने, पार्टी संविधानका कुन–कुन बुँदामा संशोधन आवश्यक छ, रूपान्तरणका एजेन्डा के–कस्ता अघि लैजानुपर्ने हुन् जस्ता महत्त्वपूर्ण विषयमा गम्भीर छलफल अपरिहार्य रहेको बताए ।
यस्तै मुख्यमन्त्री शाहले उपभोक्ता समिति मार्फत सञ्चालन हुने काममा दुरुपयोग बढ्दै गएको उल्लेख गर्दै उपभोक्ता समितिमार्फतका योजनालाई रोकेरै मात्र भ्रष्टाचार नियन्त्रण सम्भव हुने धारणा राखे ।
शुक्रवार बझाङका पालिका प्रमुखहरू, संघ, प्रदेश र स्थानीय तहका कार्यालय प्रमुखहरू तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय तहमा योजना किनबेचका गुनासा व्यापक रूपमा आएको भन्दै उनले यस्तो प्रवृत्तिलाई तत्काल निरुत्साहित गर्न आग्रह गरे ।
शुक्रवार नै मुख्यमन्त्री शाहले बाजुरा जिल्लाको समग्र शान्ति–सुरक्षा अवस्थाबारे प्रमुख जिल्ला अधिकारी तथा जिल्लास्थित तीनै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै अद्यावधिक जानकारी लिएका थिए ।


















