बाजुरा– बाजुराको हिमाली गाउँपालिकामा – ६ मा प्रसूति केन्द्र भवन निर्माणमा भ्रष्टाचार गरेको भन्दै ६ जना विरुद्ध मुद्दा दर्ता भएको छ । स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशोक कुमार सिंह सहित ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन निर्माणमा आर्थिक अनियमितता भएको ठहर गर्दै बिहीबार मुद्दा दर्ता गरेको बताईएको छ । आर्थिक वर्ष २०७५/०७६ मा प्रसूति केन्द्र भवन निर्माणको लागि स्वास्थ्य कार्यालय बाजुराबाट २० लाख र स्थानीय उपभोक्ताबाट ६ लाख १५ हजार २०६ रुपैयाँ गरी २६ लाख १५ हजार २०६ रुपैया लागतमा भवन निर्माण गरिएको थियो ।
उक्त काम मापदण्ड विपरीत भएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र ३ बमोजिम अदालतमा मुद्धा दर्ता गरेको जनाएको छ ।


अख्तियारले स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशोक कुमार सिंह, शिक्षा विकास तथा समन्वय इकाई बाजुराका तत्कालीन इन्जिनियर सुनेश कुमार चौरसिया, तत्कालीन सव–इन्जिनियर नरेश रावत, प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडी विरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।
लागत अनुमानमा उल्लेखित दर रेटमा नै झुटा बिल भर्पाइका आधारमा पूरै भुक्तानी लिएको अख्तियारले जनाएको छ । लागत अनुमानबमोजिम आल्मुनियमको झ्याल ढोकाको फ्रेम र सटर सहित हुनुपर्नेमा लोकल काठको चौकोस मात्र जडान गरेको पाईएको हो । उनीहरूविरुद्ध जनही १५ लाख आठ हजार ५ सय ५७ रुपैयाँ बिगो कायम गरिएको छ ।
गैरकानुनी लाभ लिने उद्देश्यले झुट्टा विवरण पेस गरी भुक्तानी लिएको र सार्वजनिक संरचनालाई प्रयोगविहीन बनाइ गम्भीर भ्रष्टाचारको काम गरेको हुँदा कानुनी कारबाहीका लागि विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।


















