खाेज्नुहाेस

ट्रम्प र नेतन्याहूबीच गाजामा युद्धविराम गर्न सहमति

Image

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू गाजामा युद्धविरामका लागि सहमत भएका छन्। सोमबार राति वासिङटनमा आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरुले गाजामा युद्धविरामका लागि सहमत भएको जानकारी दिएका हुन्।

उनीहरुले प्यालेस्टाइनी विद्रोही समूह हमासलाई योजना स्वीकार गर्न चेतावनी दिएका छन्। ह्वाइट हाउसले गाजामा युद्ध रोक्ने र भविष्यमा त्यहाँ शासन व्यवस्थाको रूपरेखा तय गर्ने उद्देश्यसहित २० बुँदे योजना सार्वजनिक गरेको छ। यो योजना ट्रम्प र नेतन्याहुको संयुक्त पत्रकार सम्मेलन अघि सार्वजनिक गरिएको हो।

attariya hospital
navjiwan hospital

ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले शान्तिको लागि ऐतिहासिक दिन भएको बताए। उनले हमासले योजना स्वीकार नगरे नेतान्याहूले जे गर्ने निर्णय गरे पनि अमेरिकाले साथ दिने बताए। प्रधानमन्त्री नेतान्याहूले पनि योजना अस्वीकार गरिए इजरायलले आवश्यक कदम चाल्ने चेतावनी दिए। नेतन्याहुले भने,‘यदि हमासले प्रस्ताव मानेन भने इजरायलले आफ्नो काम पूरा गर्नेछ।’

ट्रम्पले नेतान्याहूलाई दोस्रो कार्यकालको लागि व्हाइट हाउसमा फर्केदेखि नै कडा समर्थन गरेका छन्।

ह्वाइट हाउसको २० बुँदे प्रस्ताव कतार र इजिप्टमार्फत हमासलाई बुझाइएको छ। प्रस्ताव अनुसार, हमासले हिरासतमा रहेका सयौँ गाजावासीको बदलामा जीवित रहेका २० इजरायली बन्धक रिहा गर्नुपर्नेछ। मृत मानिएका दुई दर्जनभन्दा बढी बन्धकको अवशेष ७२ घण्टाभित्र उपलब्ध गराउनुपर्नेछ। प्रस्ताव अनुसार, इजरायलले सयौं प्यालेस्टिनीहरूलाई रिहा गर्नेछ, जसमा धेरै आजीवन कारावासको सजाय भोगिरहेका छन्।

प्रस्तावमा हमासले आफ्ना हतियार राख्न पाउँदैन। हमासका सुरुङ र हतियार निर्माणसम्बन्धी सुविधा नष्ट गरिने उल्लेख छ। प्रस्तावमा भविष्यमा एक स्वतन्त्र प्यालेस्टाइनी राज्यको सम्भावनालाई खुला राखेको छ।