खाेज्नुहाेस

ताला खुलेपछि डीडीसीले दूधको भुक्तानी दिन सुरु गर्दै

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) प्रशासन कार्यालयमा लगाइएको ताला खुलेपछि दूधको भुक्तानी सुरु गरिने भएको छ । जेठ ८ गते देखि लगाइएको ताला मंगलबार खुलेपछि आज (बुधवार) देखि किसानको दूधको भुक्तानी दिन सुरु गरिने गरिने डीडीसी अत्तरियाका प्रमुख निरञ्जन भट्टराइले बताए । उनले मंगलबार ताला खुलेको भए पनि किसानको भुक्तानी भने बुधवारबाट सुरु हुने बताए । उनले बिदा भए पनि भुक्तानीको काम नरोकिने बताए । उनले पहिलो चरणमा तत्काल डेढ करोड रुपैयाँ दूधको भुक्तानी गरिने बताए ।

डीडीसीको गत वर्षको माघ यताको दूधको भुक्तानी हुन बाँकी रहेको छ । माघ देखि हालसम्म करिब साढे ६ करोड भुक्तानी गर्न बाँकी भए पनि २/३ दिन भित्रमा माघ महिनाको डेढ करोड भुक्तानी गरेर बाँकी भुक्तानी नियमित रूपमा गर्दै जाने कार्यालय प्रमुख भट्टराइले बताए ।

attariya hospital

हाल डीडीसीले कैलाली, कञ्चनपुर र डडेल्धुराबाट दूध सङ्कलन गर्दै आएको छ । डीडीसीले ५९ वटा सहकारी, समूह र कृषि फारमबाट दूध सङ्कलन गर्दै आएको छ । डीडीसीले हाल दैनिक २ हजार ५ सय देखि ३ हजार लिटर सम्म दूध सङ्कलन गरिरहेको कार्यालय प्रमुख भट्टराइले बताए । उनले वैशाख देखि असोज सम्म दैनिक २ हजार ५ सय देखि ३ हजार लिटर र कार्तिक देखि चैत सम्म साढे ६ हजार लिटर सम्म दूध सङ्कलन हुने गरेको बताए ।

navjiwan hospital

डीडीसीको दूधको भुक्तानी देशैभर रोकिएको भए पनि अत्तरियामा करिब ४ महिनादेखि तालाबन्दी हुँदा भुक्तानीको काम ठप्प भएको थियो । स्थानीयले डीडीसी धनगढी सार्ने नहुने भन्दै तालाबन्दी गरेका थिए । डीडीसी केन्द्रीय कार्यालयले स्थानीयको माग बमोजिम तत्काल डीडीसी नसार्ने आशयको पत्र डीडीसीको केन्द्रीय कार्यालयले पठाएपछि मंगलबार ताला खुलेको हो । डीडीसी धनगढी सार्ने तयारी पछि स्थानीयले विरोध गर्दै जेठ ८ गते डीडीसी अत्तरियामा तालाबन्दी गरेका थिए । यद्यपि तालाबन्दीका बिच डीडीसीको प्रशासनिक कार्यालय धनगढी सारिएको थियो ।

भदौ २९ गते डीडीसीको केन्द्रीय कार्यालयका निमित्त महाप्रबन्धक सञ्जीव झाले डीडीसी अत्तरियालाई पठाएको पत्रमा आयोजनालाई धनगढीको कनेरीमा स्थानान्तरण गर्ने विषयलाई लिएर तालाबन्दी भएकाले हाललाई प्रशासनिक, आर्थिक र उत्पादन सम्बन्धी सम्पूर्ण काम यथास्थानबाट गर्न भनिएको छ । उक्त पत्रका गोदावरी नगरपालिकालाई बोधार्थ राखिएको छ ।

डीडीसी केन्द्रीय कार्यालयको पत्राचार पछि मंगलबार बिहान बसेको सर्वदलीय सर्वपक्षीय बैठकले तालाबन्दी खोल्ने निर्णय गरिएको थियो । बैठकमा गोदावरी नगर प्रमुख वीरेन्द्र भट्ट, डीडीसीका प्रबन्धक निरञ्जन भट्टराई, डीडीसी संघर्ष समितिका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयको सहभागिता रहेको थियो । सर्वदलीय बैठकमा डीडीसीको ताला खोल्ने र दसैँ भित्र किसानको दूधको भुक्तानी गर्ने, गोदावरी नगरपालिकाको प्रतिबद्धता अनुसार डीडीसीको दिगो व्यवस्थापनको लागि जग्गा उपलब्ध गराउने निर्णय भएको संघर्ष समितिका संयोजक लोक राज पाण्डेले बताए ।

हाल डीडीसी अत्तरियामा रहेको कृषि उपज थोक बजारमा भाडाको घरमा सञ्चालनमा रहेको छ । जहाँ डीडीसीको स्तरोन्नति गर्न ठाउँ अभाव भएको भन्दै नयाँ ठाउँमा सार्न लागिएको डीडीसीले बताउँदै आएको छ ।

स्थानीयले भने डीडीसीका लागि गोदावरीमै जग्गा उपलब्ध गराएर गोदावरी बाहिर लग्न नहुने माग गर्दै आएका छन् । यसबिच गोदावरी नगरपालिकाले पनि डीडीसीलाई जग्गा उपलब्ध गराउनको लागि गोदावरीकै ३ ठाउँमा जग्गा दिन सकिने प्रतिवेदन डीडीसीलाई बुझाएको थियो । उक्त जग्गा मध्ये डीडीसीलाई एक ठाउँको जग्गा छनोट गर्न भनिएको भए पनि हाल सम्म उक्त प्रतिवेदनको भने जवाफ नआएको गोदावरी नगरपालिकाका नगरप्रमुख भट्टले बताए ।