अत्तरिया – कैलालीको धनगढी – ४ चटकपुरमा रहेको आलोक मल्टी कन्सर्न प्रालिले आगलागी भएका सुदूरपश्चिमका कार्यालयकालाई प्रतिकार्यालय एक थान कुर्सी र टेबल सहयोग गर्ने घोषणा गरेको छ ।
आलोक व्यवस्थापनले जेनजी आन्दोलनका क्रममा आगजनी भएका सुदूरपश्चिम प्रदेशभरिका सम्पूर्ण मन्त्रालय, सरकारी कार्यालयहरू तथा स्थानीय निकायका कार्यालयलाई कुर्सी र टेबल सहयोग गर्ने घोषणा गरेको हो ।


आलोकले आन्दोलनका कारण सुदूरपश्चिम प्रदेशभरिका विभिन्न मन्त्रालय, सरकारी कार्यालयहरू तथा स्थानीय निकायमा भएको क्षति तथा आगजनीबाट तत्काल सेवा सञ्चालनमा कठिनाइ भएको अवस्थालाई मध्यनजर गर्दै सहयोग गर्ने घोषणा गरिएको जनाएको छ ।
आलोकले सम्पूर्ण सुदूरपश्चिमका कार्यालयलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ ‘कार्यालय सञ्चालन सहजीकरण गर्नका लागि आवश्यक पर्ने एक थान अफिस टेबल र एक थान घुम्ने कुर्सी निःशुल्क उपलब्ध गराउने निर्णय गरेको ब्यहोरा जानकारी गराउँदै उक्त सामग्रीहरू यस कम्पनीको कार्यालयमा उपलब्ध गराइएका छन् कृपया सम्बन्धित मन्त्रालय, सरकारी कार्यालयहरू तथा स्थानीय निकायले लगिदिन अथवा ग्रहण गरिदिनुहुन अनुरोध गर्दछौ ।’


















