खाेज्नुहाेस

खरानी टकटक्याउँदै सेवा सञ्चालनको तयारी

Image

अत्तरिया – भदौ २४ गते भएको जेन जी आन्दोलनका क्रममा जलेर खरानी भएका सरकारी कार्यालय सेवा सञ्चालनको तयारीमा जुटेका छन् । आन्दोलनका क्रममा एकै दिन ठुलो सङ्ख्यामा आगो लगाएर ध्वस्त बनाइएका कार्यालय सञ्चालनको तयारीमा जुटेका हुन । जेन जी आन्दोलनका क्रममा जलेको गौरीगंगा नगरपालिका सञ्चालनका लागि आइतबार सर्वदलीय–सर्वपक्षीय बैठक बसेको छ । बैठकपछि बसेको कार्यपालिका बैठकले जेनजी आन्दोलनका क्रममा जलेको नगरपालिका, वडा, भवन असोज १ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ । प्रमुख प्रशासकीय राम बहादुर केसीले कार्यपालिका बैठकबाट भाद्र ३० देखि विद्यालय सञ्चालन गर्ने निर्णय भएको बताए । उनले भाद्र २३ र २४ गते भएको प्रदर्शनका क्रममा नगरपालिकाको प्रशासकीय भवन, वडा कार्यालय भवन, सवारी साधन र कार्यालय सञ्चालन उपकरण जलेर नष्ट भएको बताए ।

आगलागीबाट ध्वस्त भएको गोदावरी नगरपालिकाका कर्मचारी पनि आगलागीबाट जलेर बचेका कागजात थन्क्याउने काममा जुटेका छन् । नगरपालिकाको तीन शाखा पुरै ध्वस्त भएका छन् भने अन्य शाखामा पनि ठुलो क्षति पुगेको छ । नगरपालिकाले वडा कार्यालयबाट सुरक्षा र व्यक्तिगत घटना दर्ताका काम सुचारु भएको जनाए पनि नगरपालिका कार्यालयबाट सञ्चालन हुने सेवा भने स्थगित गरेको छ । प्रमुख प्रशासकीय अधिकृत धर्म राज विनाडीले आगजनी र तोडफोडबाट भौतिक संरचना र अधिकांश कागजात, कम्प्युटर उपकरण लगायतका सामाग्री जलेकाले हाललाई सेवा स्थगित गरिएको सूचना प्रकाशित गरेका छन् ।

attariya hospital

कैलालीमा सङ्घीय सरकार मातहतका केही कार्यालयले भने सेवा सीमित सेवा सुरु गरेका छन् । जिल्ला प्रशासन कार्यालय कैलाली, भन्सार कार्यालय र जिल्ला अदालतले सेवा सञ्चालनमा ल्याएका हुन । जिल्ला प्रशासनका कर्मचारीको ल्यापटप र स्कुलबाट सहयोग प्राप्त कम्प्युटरबाट सेवा सुरु गरेका हुन ।

कैलाली जिल्ला अदालतले पनि आन्दोलनपछि रोकिएका सेवा सुचारु गर्ने निर्णय गरेको छ । जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको आगजनी, तोडफोड र लुटपाटका कारण भएको भौतिक क्षति र त्यसपश्चात् उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै अदालतले आकस्मिक पूर्ण बैठक बसेर आगामी दिनमा हुने कामकारबाहीबारे निर्णय गरेको हो ।

navjiwan hospital

यसैबिच कैलाली भन्सार कार्यालयले ग्यारेजबाट सेवा सुचारु गरेको छ । जेन–जी पुस्ताको आन्दोलनका क्रममा कार्यालयको भवनमा आगजनी र तोडफोड भएपछि कार्यालय ग्यारेजमा सञ्चालन गरिएको छ । कैलाली भन्सार कार्यालय सहित फर्निचर, कम्प्युटर, कागजपत्र जलेका छन् । भन्सार कार्यालयबाट सेवा सुचारु गर्न समय लाग्ने भएकाले सवारी पार्किङ र गाडी मर्मतका लागि प्रयोग हुँदै आएको भवनबाट सेवा सुचारु गरिएको हो । भन्सार कार्यालयको पश्चिम–दक्षिण प्रवेशद्वारमा रहेको भवनबाट सेवा सुचारु गरिएको छ । बैङ्कको काउन्टर, आयात–निर्यातको स्वीकृति लगायतको  काम सोही भवनबाट हुने भएको छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार कैलालीमा १०३ वटा सरकारी कार्यालय भवनमा आगजनी तथा तोडफोड गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार सिंहले प्रदर्शनकारीको आक्रमणले १०३ सरकारी कार्यालयका भवन, १७ वटा पार्टी कार्यालय भवन, १२ वटा निजी घर र पाँच वटा प्रहरी बिट क्षतिग्रस्त भएको बताए ।

उनका अनुसार जिल्लाभर ११४ वटा चार पाङ्ग्रे, ५४३ वटा दुई पाङ्ग्रे, ६ वटा तीन पाङ्ग्रे र १५ वटा साइकल गरी ६७८ सवारीसाधनमा आगजनी र तोडफोड गरिएको छ ।

यसैबिच प्रदेश मातहतका कार्यालयमा भने मुचुल्का सङ्कलन गरेर मात्रै सञ्चालन गरिने जनाइएको छ । प्रदेश सरकार अन्तर्गतका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लगायतका संरचना क्षतिग्रस्त भएका छन् ।