अत्तरिया – जेन जी को आन्दोलन पछि सुनसान बनेको अत्तरिया बजार पुरानै लयमा फर्किएको छ । भदौ २३ गते देखि सुरु भएको जेन जीको आन्दोलनका क्रममा भदौ २४ गते ठुलो भौतिक क्षति पुगेपछि लगाइएको कर्फ्यु र निषेधाज्ञा सँगै अत्तरिया बजार सुनसान बनेको थियो । तीन दिन लागेको कर्फ्यु र निषेधाज्ञाका कारण सुनसान बनेको बजार शनिवार देखि पुरानै लयमा फर्किएको हो ।
कर्फ्यु र निषेधाज्ञा जारी भएपछि नेपाली सेना सडकमा उत्रिएको थियो । सेनाले आवतजावत मै रोक लगाउँदा बजार सुनसान भएको थियो । बजारमा पसलहरू बन्द भएका थिए भने यातायातका साधन पनि ठप्प थिए ।

शुक्रवार राती नयाँ सरकार गठन भएसँगै शनिवार बिहान देखि कर्फ्यु खुलेपछि बजारमा चहलपहल बढेको छ । अत्तरियाबाट लामो तथा छोटो दुरीका सवारी साधन पनि सञ्चालनमा आएका छन् । शनिवार साँझ अत्तरिया बसपार्क भएर पहाडी जिल्ला र काठमाण्डौं जाने यात्रु गन्तव्य तर्फ लागेका थिए । बजारका पसल खुलेपछि किनमेल गर्नेको पनि भिड लागेको छ ।
भदौ २३ गते जेन जी को आन्दोलन सुरु भएको दिन काठमाण्डौं लगायतका क्षेत्रमा १९ जनाको मृत्यु भएपनि अत्तरियामा सामान्य विरोध -याली मात्रै निकालिएको थियो । तर, भदौ २४ गते भने देशभर आन्दोलनले उग्ररुप लिएको थियो । सो क्रममा अत्तरियामा पनि करिब एक दर्जन कार्यालय, निजी घरमा आगजनी र तोडफोड गरिएको थियो । एकै दिनमा ठुलो जनधनको क्षत्रि भएपछि मानिसहरुमा त्रासको वातावरण सृजना भएको थियो । उक्त घटनापछि सेना सडकमा आएर कर्फ्युलगाएपछि अत्तरिया बजार पनि सुनसान बनेको थियो ।

शनिवार भने जिल्ला प्रशासन कार्यालय कैलाली जिल्लाभर जारी गरेको कर्फ्यु हटेको सूचना जारी गरेको थियो । प्रशासनले अनिश्चित कालका लागि रातीको समयमा जारी गरेको कर्फ्यु हटेको जनाएको थियो भने प्रशासनले यसअघि जिल्लाभर जारी गरेको निषेधाज्ञामा पनि परिवर्तन गरिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालद्वारा जारी आदेशमा निषेधाज्ञा जारी हुने निश्चित स्थान तोकिएको छ । जसअनुसार संघ, प्रदेश तथा स्थानीय तहका विभिन्न कार्यालय भवन, सुरक्षा निकायका कार्यालयहरू तथा परिसरहरू र अत्यावश्यक वस्तु, सेवा आपूर्तिका स्थलहरू, मठ मन्दिरहरू तथा मुख्य बजार केन्द्रहरू हरेका छन् ।
निषेधाज्ञा जारी गरिएको स्थानमा कुनै प्रकारको हुलदङ्गा, अशान्ति हुने गरी साना हतियार घरेलु हतियार लाठी जस्ता सामाग्रीहरू लिई विरोध र -याली सभा तथा जुलुसमा सहभागी हुन नपाउने सर्त तोकिएको छ । यस्तै कुनै पनि व्यक्तिको घर, राजनैतिक दलका पार्टी कार्यालयहरूलाई क्षति वा असर पुग्ने प्रकृतिका आन्दोलन वा गतिविधि गर्न नपाउने, आम सर्वसाधारणको आवात जावतलाई अवरोध नगर्ने र जुलुस तथा सभामा कलिला बालबालिकाहरूको प्रयोग नगर्ने नगराउने सर्त जारी निषेधाज्ञामा राखिएको छ ।
भदौ २३ र २३ गते भएको जेनजी आन्दोलनका क्रममा भएको परिस्थितिलाई मध्यनजर गरी भदौ २४ गते कैलालीमा अनिश्चित कालिन कर्फ्युआदेश जारी गरिएको थियो । भदौ २६ गते ३ बजेदेखि भदौ २४ को आदेशलाई परिमार्जन गरेर बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा, साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको थियो भने बिहान ६ बजे देखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक सेवा र कार्यको लागि आवत– जावत (हिँडडुल) गर्न सकिने समय तोकिएको थियो ।
यसबिच नेपाली सेनाले पनि माघ २५ गते बेलुकी ५ बजे सम्म देश भरी लागू हुने गरी निषेधाज्ञा र सोही दिन ५ बजे देखि माघ २६ गते बिहान ६ बजे सम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको थियो । सेनाले त्यसपछि सम्बन्धित जिल्लाको अवस्था अनुसार प्रशासनबाट कफ्र्यू निषेधाज्ञा जारी हुने जनाएको थियो ।
यसैबिच कञ्चनपुरमा कफ्र्यु हटाइएको छ भने निषेधाज्ञा आइतबारसम्म जारी राखिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शनिबार सूचना जारी गरेर कर्फ्यु हटाइएको र निषेधाज्ञा यथावत् रहने जानकारी दिएको छ । प्रशासनका अनुसार आइतबार बिहान ५ बजेसम्म निषेधाज्ञा जारी रहनेछ । शनिबारदेखि कर्फ्युभने हटाइएको हो । निषेधाज्ञा महेन्द्रनगर बजारको ३ किलोमिटर परिसर, पूर्व–पश्चिम राजमार्गको दायाँ–बायाँ ३ किलोमिटर र स्थानीय तहको केन्द्र रहेको क्षेत्रमा लागू रहने प्रशासनले जनाएको छ ।

















