अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ३ की हेतल खत्रीको न्यायका लागि दवावमुलक कार्यक्रम आयोजना गरिएको छ । बिहिबार वडा नं. ३ मालाखेतीमा हेतलको न्यायका लागि दवावमुलक कार्यक्रम आयोजना गरिएको हो ।

स्थानिय आशिष भट्टराईले हेतलको घटनामा निष्पक्ष छानविन हुनुपर्ने र अपराधीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग रहेको बताए । उनले होस्टलमा सुतेकी हेतलको धारिलो हतियार प्रयोग भएको अवस्थामा शव फेला पर्नुले उनको हत्या भएको पुष्टि हुने समेत बताए ।

‘धारिलो हतियार प्रयोग भएको अवस्थामा शव फेला परेको छ, त्यो हत्या नै हो’ उनले भने ‘हत्या भएको ४ दिन बित्नै लाग्दा समेत पोष्टमार्टम भएको छैन, छिटो भन्दा छिटो पोष्टमार्टम गरी, अपराधी पत्ता लगाएर कारबाही गरिनुपर्छ भन्ने हाम्रो माग हो ।’ उनले हेतललाई न्याय दिलाउनका लागि नै दवाव मुलक कार्यक्रम आयोजना गरिएको बताए ।
काठमाण्डौको एउटा गल्र्स होस्टेलमा बस्दै आएकी हेतलको यही भदौ २३ गते सोमबार धारिलो हतियार प्रहार भएको अवस्थामा शव फेला परेको थियो । होस्टेलमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी उनको हत्या गरिएको परिवारले आरोप लगाउदै आएका छन । हेतल काठमाण्डौमा फेसन डिजाईनिङ र मोडलिङको काम गर्दै आईरहेकी थिईन ।

















