खाेज्नुहाेस

चौकिडाँडा फल्टुडे सडक निर्माण गर्ने ठेकेदार विरुद्ध अत्तरियामा विरोध र्‍याली 

Image
अत्तरिया – चौकिडाँडा फल्टुडे सडक निर्माण गर्ने ठेकेदारले गरेको ढिलासुस्ती र लापरबाही विरुद्ध अत्तरिया चोकमा विरोध र्‍याली  निकालिएको छ । सोमबार चौकिडाँडा फल्टुडे सडक निर्माण सङ्घर्ष समितिको आयोजन र गोदावरीका जनप्रतिनिधिको उपस्थितिमा विरोध र्‍याली  निकालिएको हो ।
attariya hospital
यसअघि आइतबार पत्रकार सम्मेलन गरेर चक्काजामको कार्यक्रम घोषणा गरिएको भए पनि कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल सहित ठेकेदार बिहान ओलानीमै पुगेर भोलिदेखि काम सुरु गर्ने र आज दिउसो २ बजे लिखित प्रतिबद्धता जनाएपछि चक्काजामको कार्यक्रम रोकेर विरोध र्‍याली  र कोष सभाको आयोजना गरिएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले ६ वर्ष अघि ठेक्का भएको सडक ठेकेदारले समयमा निर्माण नगरिदिँदा अहिलेको अवस्था आएको बताए । उनले पटक पटक स्थानीय सरकारले समयमा काम सक्नको लागि पहल गरे पनि नतिजा नआएपछि बाध्य भएर सडकमा आउनु परेको बताए ।
उनले आइतबार पत्रकार सम्मेलन गरेर चक्काजाम गरिने बताए पनि सिडिओ बिहानै ओलानीमा पुगेर आजै सहमति गर्ने प्रतिबद्धता जनाएपछि आफूहरूले प्रशासनलाई सहयोग गर्दै चक्काजाम रोकेको बताए । उनले अब भोलि देखि काम सुरु भएर एक दिन पनि काम रोकिए पुनः आन्दोलन गरिने चेतावनी दिए । उनले आज ठेकेदारले मङ्सिर महिना भित्र काम सक्ने बताएको बताउँदै यसको दिउँसो लिखित सम्झौता हुने बताए ।
navjiwan hospital
वडा नम्बर ३ का वडाध्यक्ष तेज राज अवस्थीले आन्दोलनका कार्यक्रम अन्तरगत सडकमै वडा कार्यालय सञ्चालन गर्ने कार्यक्रम गर्दा सुनुवाइ नभएपछि सडकमा उत्रिनु परेको बताए ।
ओलानी सडकका अटो व्यवसायी राजु विकले भने चक्काजामको कार्यक्रम गर्ने भनेर ब्यानर छाप्दा पनि भनेअनुसार कार्यक्रम नगरिनु धोका भएको बताए । उनले राजनीतिक हस्तक्षेपका कारण चक्काजामको कार्यक्रम रोकिएको दाबी गर्दै अब ओलानीबासी चुप लागेर नबस्ने बताए ।
सङ्घर्ष समितिका संयोजक विक्रम विकले आज गरिने सम्झौता पछि पनि घात गरिए अब एक दुई घण्टा नभएर सडक पुरै ठप्प गरिने बताए ।
प्रदेश सरकारले ६ वर्ष अघि निर्माण गर्ने भन्दै ठेक्कामा लगाएको चौकिडाँडा फल्टुडे सडक कालोपत्रे नभएपछि गोदावरीको वडा नम्बर ३, १०, ११ र १२ का जनप्रतिनिधिले आन्दोलनका कार्यक्रम सुरु गरेका थिए । जसअनुसार बिहीबार र शुक्रवार सडकमै वडा कार्यालय सञ्चालन गरेका उनीहरूले सोमबार अत्तरिया चोकमा विरोधका कार्यक्रम गरेका हुन ।
चौकिडाँडा देखि फल्टुडे जोड्ने उक्त सडक कालोपत्रे गर्न सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेटबाट अढाई किलोमिटर कालोपत्रे गर्ने भन्दै ठेक्का सम्झौता गरेको थियो । दोस्रो खण्डको उक्त सडक निर्माणका लागि २०७७ भदौ १८ गते एड्भेन्चर, थिगिम, सन्लाईट जेभि सँगै सम्झौता भए पनि हालसम्म उक्त सडक कालोपत्रे हुन सकेको छैन ।
दोस्रो खण्डको काम नहुँदै प्रदेश सरकारले नै तेस्रो खण्ड निर्माणका लागि २०७९ चैत्र १८ गते तेडी निर्माण सेवा सँग सम्झौता गरे पनि उक्त सडक कालोपत्रेको काम पनि अलपत्र अवस्थामा रहेको छ ।  प्रदेश मार्फत ओलानी जोड्ने मुख्य सडक मध्ये साढे ५ किलोमिटर सडक दुई ठेकेदारले अलपत्र परेपछि गोदावरीका जनप्रतिनिधि सँगै स्थानीय आन्दोलित भएका छन् ।