अत्तरिया – ६ वर्ष सम्म पनि सडक कालोपत्रे नभएपछि कैलालीको गोदावरीका जनप्रतिनिधिले सडकमा चक्काजाम गर्ने घोषणा गरेका छन् । प्रदेश सरकारले ६ वर्ष अघि निर्माण गर्ने भन्दै ठेक्कामा लगाएको सडक कालोपत्रे नभएपछि गोदावरीको वडा नम्बर ३, १०, ११ र १२ का जनप्रतिनिधिले अत्तरिया चोकमा सडक चक्काजाम गर्ने घोषणा गरेका हुन ।
चौकिडाँडा देखि फल्टुडे जोड्ने उक्त सडक कालोपत्रे गर्न सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेटबाट अढाई किलोमिटर कालोपत्रे गर्ने भन्दै ठेक्का सम्झौता गरेको थियो । दोस्रो खण्डको उक्त सडक निर्माणका लागि २०७७ भदौ १८ गते एड्भेन्चर, थिगिम, सन्लाईट जेभि सँगै सम्झौता भए पनि हालसम्म उक्त सडक कालोपत्रे हुन सकेको छैन ।

दोस्रो खण्डको काम नहुँदै प्रदेश सरकारले नै तेस्रो खण्ड निर्माणका लागि २०७९ चैत्र १८ गते तेडी निर्माण सेवा सँग सम्झौता गरे पनि उक्त सडक कालोपत्रेको काम पनि अलपत्र अवस्थामा रहेको छ । प्रदेश मार्फत ओलानी जोड्ने मुख्य सडक मध्ये साढे ५ किलोमिटर सडक दुई ठेकेदारले अलपत्र परेपछि सो सडक प्रभावित क्षेत्रका चार वडाध्यक्षले आन्दोलित भएका छन् ।

यसअघि विरोध स्वरूप २ दिन सडकमै वडा कार्यालय सञ्चालन गरेका वडाध्यक्षहरूले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै सोमबार बिहान ९ बजे देखि ११ बजे सम्म अत्तरिया चोकमा चक्काजाम गर्ने घोषणा गरेका हुन ।
वडा नम्बर १२ का वडाध्यक्ष भीम बहादुर खड्काले ठेकेदारको चरम लापरबाहीका कारणले वडा वासिले भोग्नुपरेको सास्तीका विरुद्धमा २ दिन सडकमै वडा कार्यालय सञ्चालन गर्दा पनि वास्ता नगरिएपछि चक्काजाम गर्नुपरेको बताए । ‘सडकमा वडा कार्यालय सञ्चालन गर्दा केही प्रभाव परे पनि काम तत्काल सुरु गर्ने अवस्था नदेखिएपछि हामी चक्काजामका कार्यक्रम गर्न बाध्य भएका हौ’ उनले भने ‘हाम्रो माग प्रशासनले ठेकेदारलाई थुनोस् र त्यसपछि काम अगाडि बढोस् भन्ने हो ।’ उनले चक्काजामको कार्यक्रम पछि पनि माग सुनुवाइ नभए प्रदेश सरकारको विरुद्धका कार्यक्रम अघि बढ्ने बताए । उनले प्रदेश सांसद निषेध गर्ने, बहिष्कार गर्ने, सम्बन्धित निकाय घेर्ने कार्यक्रम गर्ने बताए ।
वडा नम्बर ११ का वडाध्यक्ष प्रेम बडैलाले बाध्य भएर आफूहरू सडकमा आएको बताउँदै केन्द्र र प्रदेशमा बसेर तलब भत्ता खाइरहेका माननीयहरूलाई झकझक्याउनको लागि सडक चक्काजामको कार्यक्रम गरिएको बताए । उनले भने ‘सुतेका माननीयहरूलाई जगाउन सकिन्छ की भन्ने हाम्रो चक्काजामको उद्देश्य हो ।’
वडा नम्बर ३ का वडाध्यक्ष तेज राज अवस्थीले २ घण्टाको चक्काजाम पछि पनि सम्बन्धित निकाय सँग वार्ता भएन भने यो आन्दोलन निरन्तर चल्ने बताए । उनले अब जनतालाई साथमा लिएर सडक कालोपत्रे नहुँदा सम्म आन्दोलनका कार्यक्रम जारी रहने बताए ।
वडा नम्बर १० का वडा सदस्य शेर बहादुर तामाङले ठेकेदार एक दिन काम गर्ने अनि हराउने गरेको बताए । उनले एक दुई दिन काम गरेर पेस्की बुझेर ठेकेदार हराउने गरेको बताउँदै अब पुरै सडक कालोपत्रे नगर्दा सम्म आन्दोलन जारी रहने बताए । उनले जनप्रतिनिधिले सडक निर्माणका लागि गरेको आन्दोलनमा साथ दिन आग्रह गरे ।

















