खाेज्नुहाेस

युक्रेनको प्रधानमन्त्री कार्यालय रहेको भवनमा रुसको ड्रोन आक्रमण

Image

काठमाडौं – रुसले युक्रेनको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रहेको भवनमा आक्रमण गरेको छ । शनिबार रातभर रुसले युक्रेनको राजधानी किएभमा अवस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य मन्त्रालयहरू भएको भवनमा ड्रोन र मिसाइल आक्रमण गरेको हो । रुसले पहिलो पटक युक्रेनका अधिकांश मन्त्रालयहरू रहेको भवनलाई निशाना बनाएको युक्रेनी प्रधानमन्त्री युलिया स्विरिडेन्कोले बताइन् ।

उनले भनिन्, ‘पहिलो पटक शत्रु (रुस) को आक्रमणबाट सरकारी भवनमा क्षति पुगेको छ, भवनका छाना र माथिल्लो तलाहरूमा विस्फोट भएका छन्, हामी भवनहरू पुनर्स्थापित गर्नेछौं, तर गुमाएका जीवन फिर्ता हुन सक्दैन ।’

attariya hospital

युक्रेनको हवाई सुरक्षा प्रणालीका कारण किएभमा रहेका सरकारी भवनलाई रुसले यसअघि निशाना बनाउन सकेको थिएन । तर, शनिबार राति एकै पटक ठूलो संख्यामा ड्रोन र मिसाइल प्रहार गर्दा केहीले निशाना भेट्टाएको देखिन्छ ।

navjiwan hospital

आक्रमणमा परी कम्तिमा एक शिशुसहित चार जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीका अनुसार रुसले गएराति जापोरजिया, क्रिभी री, ओडेसा, समी र चेर्निहिभ क्षेत्रमा ड्रोन र मिसाइल आक्रमण गरेको जानकारी दिए । रुसले युद्ध लम्ब्याउने रणनीतिका साथ आक्रमण नरोकेको उनले बताए ।

यी योजनाबद्ध अपराध हुन् र युद्धलाई लामो बनाउने काम हो, जब की धेरै अघि नै कूटनीति संवाद सुरु हुन सक्थ्यो,’ राष्ट्रपति जेलेन्स्कीले एक्समा लेखेका छन् । राष्ट्रपति जेलेन्स्कीले युक्रेनका हवाई रक्षा प्रणालीलाई अझै मजबुत बनाउन सहयोगीहरूसँग अपिल गरेका छन् ।

रुसले रातभर ८०५ भन्दा बढी र मिसाइल प्रहार गरेको अधिकारीहरूलाई उद्धृत गर्दै गार्जिएनले लेखेको छ । जसमध्ये युक्रेनी वायु सेनाले रुसले प्रहार गरेका ७४७ ड्रोन र चार मिसाइलहरू खसालेको दाबी गरेको छ । ३७ स्थानमा ९ मिसाइल र ५६ वटा ड्रोन भने बिस्फोट भएका छन् ।

प्रत्यक्षदर्शीले भने, ‘राति भएको आक्रमणले बिहान सुर्योदयपछि मात्रै सरकारी भवनमा आगोको धुँवा उडिरहको देखिन्थ्यो ।’

किएभका आवासीय अपार्टमेन्टमा समेत ठूलो क्षति भएको छ । रुसले युक्रेनविरुद्ध सन् २०२२ मा युद्ध थाले यताकै ठूलो आक्रमण भएको समाचार संस्था एपीसँग कुरा गर्दै युक्रेनी वायु सेनाका प्रवक्ता युरी इहनाटले पुष्टि गरेका छन् ।