अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर– ८ स्याउले स्थित विश्वनाथ महादेव मन्दिर परिसरमा आजदेखि गौरा पर्व विशेष मेला सुरु भएको छ । भदौ २१ गतेसम्म चल्ने मेलाको आज सुदूरपश्चिम प्रदेशका अर्थ राज्यमन्त्री प्रकाश बमले उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै बमले गौरा पर्व सुदूरपश्चिमको पहिचान भएकोले जर्गेना गर्नु जरुरी रहेको बताए । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका बमले कार्यक्रममा बोल्दै संस्कृति र पहिचान जर्गेना गरे मात्रै व्यक्तिको पनि पहिचान कायम रहने बताए ।
गौरा पर्व समितिकी संयोजक लक्ष्मी बिनाडीको सभा अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा पूर्व सांसद कैँया चौधरी विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रममा वर्षाका बाबजुत पनि डेउडा गायकहरु गणेश विष्ट र प्रेमराज पाठकले मन्त्री बमसहित कार्यक्रमका अतिथिहरुलाई डेउडा खेल खेलाएका थिए । मेलामा भोलि १७ गते १ बजेदेखि सावित्री धामी र उज्ज्वल सिंह साउँद, १८ गते ममता धामी र कृष्ण धामी, १९ गते टिका सानु र दीपक रिमाल तथा २० गते पदम जोशी र तुलसी बुढाको प्रस्तुति रहने संयोजक बिनाडीले बताएकी छिन् ।
विश्वनाथ महादेव मन्दिर गौरा पर्व मेला समितिको आयोजना सुरु भएका मेला सम्पन्न गर्न पदमा बोगटीको संयोजकत्वमा उप समिति पनि गठन गरिएको छ । उद्घाटन कार्यक्रममा विभिन्न संघ सँस्थाका प्रतिनिधिसहित स्थानीयहरुको उपस्थिति रहेको थियो ।













