अत्तरिया – विगत ३ महिनादेखि दुग्ध विकास संस्थान (डीडीसी) अत्तरियामा तालाबन्दी हुँदा भुक्तानी रोकिएको भन्दै दुग्ध सङ्कलन गर्ने सहकारीहरूले सहजीकरण गरिदिन प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई ज्ञापन पत्र बुझाएका छन् ।

आइतबार किसानबाट दूध सङ्कलन गर्दै आएका सहकारी र कृषि फर्महरूले सिडिओ कृष्ण प्रसाद लम्साललाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्रमा किसानहरूले २०८१ माघ देखि नै डीडीसीबाट दूधको भुक्तानी नपाउँदा किसानहरू दूधको भुक्तानी गर्न नसकिएका कारण आन्दोलन हुने अवस्था सृजना भएकाले सहजीकरण गरिदिन आग्रह गरेका छन् । ज्ञापन पत्रमा हाल डीडीसीले प्रशासनिक एवम् आर्थिक कक्ष बन्द भएको कारण रकम दिन नसकिएको बताएकाले त्यसका लागि सहजीकरण गरिदिन सिडिओ समक्ष आग्रह गरिएको छ ।

सडकमै छलफल
ज्ञापन पत्र बुझे लगतै बन्द रहेको डीडीसी कार्यालयमा पुगेका सिडिओ लम्सालले डीडीसी कार्यालय प्रमुख, गोदावरी नगरपालिकाका नगरप्रमुख सहित सरोकारवाला सँग छलफल गरेका थिए । बन्द रहेको डीडीसी कार्यालयको अगाडि सडकमै भएको छलफलका क्रममा सिडिओ लम्सालले कार्यालय प्रमुखलाई तत्काल किसानको दूधको रकम भुक्तानी गर्न निर्देशन दिए । उनले आवश्यक सुरक्षा प्रबन्ध आफूले गर्ने बताउँदै निश्चित समय तोकेर सो समय भित्र भुक्तानी दिने निर्देशन दिएका हुन ।
कार्यालय प्रमुख निरञ्जन भट्टराइले सहकारी सँग छलफल गरेर भुक्तानी गर्न सकिने समय भन्न सकिने बताएका छन् । उनले कार्यालय बन्द भएकाले पुरानो भुक्तानी रोकिएको बताउँदै केही रकम तत्काल दिन सकिने भए पनि बाकी रकम भुक्तानीका लागि सहकारी सँग छलफल गरेर भन्न सकिने बताए ।


गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले गोदावरीमै डीडीसीका लागि जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाएको भए पनि डीडीसीले धनगढी सार्न खोज्दा समस्या भएको बताए ।
‘हामीले यसको दिगो व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाएका छौ । डीडीसीलाई हामीले उपलब्ध गराउन सकिने जग्गाको पनि प्रतिवेदन दिएका छौ’ उनले भने ‘डीडीसीले कुन ठाउँको जग्गा लिने भन्ने जवाफ नपठाएका कारण जग्गा उपलब्ध गराउने प्रक्रिया रोकिएको छ ।’ उनले डीडीसीको विवाद लम्बिँदा किसानको भुक्तानी रोकिएकाले यसलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए ।
उनले कार्यालय प्रमुखको धनगढी नै सार्नुपर्ने ढिपीका कारण समस्या भएको बताउँदै, डीडीसी अत्तरियाबाट नसार्ने प्रतिबद्धता गर्ने बित्तिकै सबै समस्या समाधान हुने बताए । छलफलका क्रममा नगरप्रमुख र डीडीसी प्रमुख बिच चर्काचर्की समेत भएको थियो ।
डीडीसी अत्तरियाको प्रशासनिक कार्यालयमा जेठ ८ गते तालाबन्दी गरिएको थियो । स्थानीयले डीडीसी धनगढी सार्न नहुने र डीडीसीलाई आवश्यक जग्गा गोदावरी क्षेत्रमै नगरपालिकाले उपलब्ध गराउनु पर्ने माग गरेका थिए । स्थानीयले तालाबन्दी गरेपछि स्थानीय सरकारले जग्गा उपलब्ध गराउनको लागि डीडीसीलाई जग्गाको विवरण सहित प्रतिवेदन बुझाए पनि त्यसको जवाफ डीडीसीले नदिँदा समस्या लम्बिएको गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले बताए ।

आइतबार पनि सिडिओलाई डीडीसीलाई स्थानीय तहले उपलब्ध गराउन खोजेको गोदावरी नगरपालिका – ४ मा रहेको जग्गाको अवलोकन गराइएको थियो । लामो समय देखि डीडीसीको प्रशासनिक कार्यालयमा तालाबन्दी हुँदा भुक्तानीको काम ठप्प भएको छ । जसले गर्दा अहिले किसानहरू मारमा परेका छन् ।


















