अत्तरिया – कैलालीको स्याउलेमा सुदूरपश्चिम गौरा पर्व मेला आयोजना गरिने भएको छ । गोदावरी नगरपालिका – ८ स्याउलेमा रहेको विश्वनाथ महादेव मन्दिरमा गौरा पर्व मेला आयोजना गर्न लागिएको हो । मन्दिर व्यवस्थापन समितिको आयोजनामा हुने मेला भाद्र १६ देखि २१ गते सम्म सञ्चालन हुने आयोजकले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।
मेला संयोजक लक्ष्मी विनाडीले कला संस्कृतिको संरक्षण र सम्वद्धन गर्न मेलाको आयोजना गर्न लागिएको बताइन् । उनले मेलामा गौरा प्रस्तुति सँगै रमाइलो मेला पनि आयोजना गरिने बताइन् ।

मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा साङ्गीतिक एवम् देउडा प्रस्तुति सँगै झाँकी प्रदर्शनी गरिने उनले बताइन् । उनले मेलामा भाद्र १७ गते सावित्री धामी, उज्ज्वल सिंह साउँद, १८ गते ममता धामी, कृष्ण धामी, १९ गते टिका सानी, दीपक रिमाल, २० गते पदम जोशी, तुलसी बुढा आउने बताइन् ।

मेलाको पहिलो दिन र अन्तिम दिन भने स्थानीय कलाकारलाई बोलाइने जनाइएको छ । जसअन्तर्गत कुम्भराज भट्ट, कलसी विक लगायतका कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । मेलामा सबै जातजाति, भेसभुसा समेटिने बताइएको छ । मेलामा दैनिक उपभोग्य बस्तु तथा सेवाको प्रदर्शनी तथा खरिद विक्री पनि गरिने मेला संयोजक विनाडीले बताइन् ।
‘गौरी पर्व सुदूरपश्चिमको मौलिक पर्व हो । हामी यहाँ विगत १५÷१६ वर्ष देखि यसको संरक्षण गरिरहेका छौ’ उनले भनिन् ‘मन्दिर बनाए देखि हामीले मन्दिरको संरक्षण गर्दै गौराको अवसरमा गौरा पर्व मेलाको आयोजना गर्दै आएका छौ ।’
गौरा मेला आयोजक समितिका सल्लाहकार नरेश अधिकारीले सुदूरपश्चिम गौरा पर्व मेला सफल पार्न सबैलाई सहयोग गर्न आग्रह गरे ।














