खाेज्नुहाेस

कैलाली कारागार घटना प्रतिवेदन बुझाइयो, दोषी पत्ता लागेन

Image

धनगढी – एक जना कैदीको ज्यान जाने गरी कैलाली कारागारमा भएको हिंसात्मक घटना छानबिनका लागि गठित छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा गठित छानबिन समितिले मङ्गलबार साँझ जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई प्रतिवेदन बुझाएको हो ।

गत साउन २३ गते राति कैदीबिच हिंसात्मक झडपपछि बसेको सुरक्षा समितिको बैठकले पाँच सदस्यीय छानबिन समिति गठन गरेकरो थियो । समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउनु पर्ने समय सीमा तोकिएको थियो ।

attariya hospital
navjiwan hospital

घटनाको बारेमा छानबिन गरेर समितिले प्रारम्भिक प्रतिवेदन बुझाएको समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताइन । उनले समितिको छानबिनले दोषी पत्ता लगाउन नसकेको जनाउँदै केही प्राविधिक कुरा छानविन गर्नु पर्ने भएका कारण विशेषज्ञसहित उच्च स्तरीय छानबिन समिति गठन गरेर छानबिन गर्नु पर्ने कुरा प्रतिवेदनमा उल्लेख गरेको जानकारी दिइन ।

‘घाइतेको आरोप, आरोपितको बयान र सिसी टिभी फुटेजबाट दोषी पत्ता लगाउन सकिएन’ जोशीले भनीन ‘केही प्राविधिक कुरा छन् । जुन हाम्रो समितिले छानबिन गर्न सकेन । त्यसको छानबिनका लागि विशेषज्ञसहितको उच्च स्तरीय छानबिन समिति गठनका लागि सिफारिस गरेका छौं ।’

उनका अनुसार कारागारबाट प्राप्त सिसी टिभी फुटेजमा केही व्यक्तिले कुटपिट गरिरहेको देखिए पनि क्लियर दृश्य नभएका कारण छानबिन समितिले दोषी पत्ता लगाउन सकेन । कैदीबिच भएको हिंसात्मक झडपमा धनगढीका भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना कैदी घाइते भएका थिए ।