अत्तरिया – इलाका प्रहरी कार्यालय (इप्रका) मालाखेती कैलालीमा पछिल्लो १ सय दिनमा १२५ मुद्दा दर्ता भएका छन् । इप्रका मालाखेतीका डिएसपी रण बहादुर चन्दले कमान्ड सम्हालेको १ सय दिनको अवधिमा १२५ मुद्दा दर्ता भएका हुन । उक्त मुद्दामा ८० जना पुरुष र १० जना महिला पक्राउ परेका छन् । डिएसपी चन्दका अनुसार १२५ मुद्दामध्ये लागू औषधका १० मुद्दा दर्ता भएका छन् । सो मुद्दामा संलग्न १४ जना पक्राउ परेका छन् । यस्तै सो अवधिमा सार्वजनिक हित विरुद्धको कसुरका १८ मुद्दा दर्ता भएकोमा २४ जना पक्राउ परेका छन् ।
सो अवधिमा जबरजस्ती करणीका ७ र जबरजस्ती करणी उद्योगको १ मुद्दा दर्ता भएकोमा ८ जना पक्राउ परेको डिएसपी चन्दले बताए । उनका अनुसार पछिल्लो सय दिनको अवधिमा सबैभन्दा बढी बैङ्किङ कसुरका मुद्दा दर्ता भएका छन् । जसमा ३३ मुद्दा दर्ता भएकोमा ५ पुरुष र ४ महिला पक्राउ परेका छन् ।

सो अवधिमा प्रहरीले चोरी मुद्दाका आरोपित १४ जनालाई पक्राउ गरेको छ । चोरीका ५ मुद्दा दर्ता भएकोमा ११ महिला र ३ पुरुष पक्राउ परेका हुन । यस्तै पछिल्लो १ सय दिनमा सवारी ज्यानका ५ मुद्दामा ५ जना, बहु विवाहका ३ मुद्दामा ३ पुरुष र ३ महिला गरी ६ जना पक्राउ परेका छन् । पछिल्लो १ सय दिनको अवधिमा १५ जनाले आत्महत्या गरेको मुद्दा प्रहरीमा दर्ता भएको डिएसपी चन्दले बताए । यस्तै बिस सेवन गरेका २, आत्महत्या दुरुत्साहनका २ मुद्दा दर्ता भएका छन् । आत्महत्या दुरुत्साहनका २ मुद्दामा २ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
यस्तै मानव बेचबिखन तथा ओसार पसारको १ मुद्दा, फुटकर ज्यानका २ मुद्दा ज्यान मार्ने उद्योगका १ मुद्दा दर्ता भएका छन् । तर, ती मुद्दामा अभियुक्त पक्राउ नपरेको प्रहरीले जनाएको छ । कर्तव्य ज्यानका १ र ठगीका २ मुद्दा दर्ता भएकोमा दुवै मुद्दामा १/१ जना पक्राउ परेका छन् । त्यस्तै जातीय विभेद तथा छुवाछुतको १ मुद्दामा १ जना, हातहतियार खरखजनाका २ मुद्दामा २ जना र करेन्ट लागि अङ्गभङ्ग भएको १ मुद्दामा १ जना पक्राउ परेका छन् । पछिल्लो सय दिनको अवधिमा पानीमा डुबेर भवितव्य ज्यान गुमाएका ७, भवितव्य ज्यान गएका ५ र चट्याङ लागि भवितव्य ज्यान गुमाएका १ गरी १३ मुद्दा दर्ता भएको डिएसपी चन्दले बताए ।

७७ लाखको सामान बरामद
डिएसपी चन्दले आफ्नो १ सय दिनको कार्यकालमा ७७ लाख २१ हजार १५२ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको बताए । उनले भारतबाट भन्सार छली ल्याइएको उक्त सामान इलाका प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयबाट बरामद गरिएको बताए ।
जसअनुसार जेठ १५ गते ४२ लाख ३७ हजार ५ सयका मोबाइलका डिस्प्ले र अन्य पार्टपुर्जा, जेठ ८ गते ६० हजार ५ सयका सुट र कुर्ती, जेठ १७ गते २३ लाख ५ सयको कोट पाइन्टको कपडा, जेठ १९ गते ६ लाख ८ हजारको १६ टन फलाम र असार २० गते ७४ हजार ७६० रुपैयाँको कुती, सुट, कट्टु र छाता बरामद गरिएको डिएसपी चन्दले बताए ।
यस्तै जेठ २७ गते ५६ हजार ६ सयको धोती, कुर्ती र भाइरल साडी, साउन ९ गते १ लाख १२ हजार ५ सयको ब्लाङ्केट, तन्ना र साउन २५ गते २ लाख ७० हजार ७५० रुपैयाँको सुट, साडी र मोटरसाइकल २ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
डिएसपी चन्द वैशाख २२ गते इप्रका मालाखेतीका सरुवा भएर आएका थिए । यसअघि इप्रका मालाखेतीका प्रमुख डिएसपी गंगा बहादुर थापाको सरुवा भएपछि सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत चन्द इप्रका मालाखेतीमा सरुवा भएर आएका हुन ।



















