कैलाली– कैलालीका युवा वैज्ञानिक अरुण लोहार सम्मानित भएका छन । विश्व अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा उनलाई सुदूरपश्चिम प्रदेश युवा परिषद्ले मंगलबार “युवा प्रतिभा सम्मान २०८२” ले सम्मानित गरेको हो ।
विश्व अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा जिल्लाको टिकापुर घर भएका अरुणलाई नगद १० हजार र सम्मान पत्र सहित सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सम्मानित गरे । नासामा छनौट भएका अरुणलाई प्रदेश सरकारको तर्फबाट नगद १ लाख सहित अन्य वृद्धि विकासमा समेत सहयोग गर्ने मुख्यमन्त्री शाहले बताए । उनले भने ‘म मन्त्रीज्यू सँग कुरा गर्दै थिए । हामीले भर्खर अरुणलाई सम्मान समेत ग-यौँ । उनलाई १ लाख नगद दिने र अन्य वृद्धि विकासमा समेत सहयोग गर्ने घोषणा म यस कार्यक्रममा गर्न चाहन्छु ।’


साथै मुख्यमन्त्री शाहले युवाशक्तिलाई नवप्रर्वतन सँग जोड्नुपर्ने बताए । उनले नेपाली जनताको हक अधिकार स्थापित गर्ने आन्दोलनको नेतृत्व युवा वर्गले नै गरेको बताउदै युवाहरु रुपान्तरणको सद्भाव र परिवर्तनको सम्वाहक भएको बताए । युवावर्गलाई प्रदेशमै रोजगारी दिनका लागि प्रदेश सरकारले युवा जनशक्ति नवप्रवर्तन, स्टार्टअपका साथै सीप तथा रोजगारी कार्यक्रम ल्याएको उनले बताए । साथै उनले युवा वर्गलाई लागुऔषध सम्बन्धी जानकारी दिनका लागि विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरु प्रदेश सरकारले सञ्चालन गरेको बताए ।
यस्तै जिल्लाको बर्दगोरिया गाउँपालिकाले पनि युवा वैज्ञानिक अरुणलाई एक थान ल्यापटप सहयोग गर्ने गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले बताए । युवा वैज्ञानिक अरुण अमेरिका स्थित राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा) को एक परियोजनामा नेभिगेटरका रूपमा छनौट भएका छन् ।
नासा स्पेस एप च्यालेञ्ज २०२५ मा अन्तरिक्षका बारेमा विश्वभरबाट अनुसन्धान गरिरहेका वैज्ञानिक, विद्यार्थी, इन्नोभेटर्स, प्रोग्रामर्सहरुलाई अनलाइनका माध्यमबाट मेन्टर र गाइड गर्ने नेभिगेटरका रूपमा उनी छनौट भएका हुन । उनले श्रोत साधनको अभावमा व्यक्तिगत खर्चबाट खगोल विज्ञान सम्बन्धी ७० हजार भन्दा बढी विद्यार्थीलाई सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।















