धनगढी – कैलाली कारागारमा भएको झडपमा मारिएका धनगढी उपमहानगरपालिका–४ का ३७ वर्षीय भरत चौधरीको शव आफन्तले बुझेका छन । शुक्रबार झडपमा मारिएका भरतको शव सोमबार साँझ आफन्तले बुझेका हुन ।
यसअघि मृतक चौधरीका आफन्तले हत्यामा संलग्न कैदीबन्दीको पहिचान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने, उनकी १५ वर्षीया छोरीलाई सरकारले निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने माग गर्दै शव बुझ्न मानेका थिएनन् ।


जिल्ला प्रशासन कार्यालयमा सोमबार प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमालले पीडित परिवारसँग छलफल गरेपछि शव बुझ्ने सहमती भएको हो ।

छलफलमा सीडीओ हमालले धनगढी उपमहानगरपालिकाले मृतककी छोरीलाई पढाउने बचन दिइसकेको र सहयोगका लागि आफूले अन्य संघसंस्थामार्फत पहल गर्ने मौखिक प्रतिबद्धता जनाएका थिए । मृतककी १५ वर्षीया छोरी अहिले ८ कक्षामा पढिरहेकी छन् ।
सीडीओ हमालले कारागारभित्र भएको हिंसात्मक घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याइने बताएपछि आफन्तले शव बुझेका छन ।

प्रहरीले पनि मृतकका आफन्तले दिने जाहेरीका आधारमा अनुसन्धान अघि बढाउने जनाएको छ । चौधरी लागुऔषध मुद्दामा ६ महिनादेखि कैद भुक्तान गरिरहेका थिए ।
















