हेमन्त राज जोशी (बाजे), बनबेहडा – ‘जहाँ इच्छा त्यहाँ उपाय’ भने झैँ घरको छतमै मज्जाले कौसी खेती गरेर तरकारी फलाउन सकिन्छ भनेर लागिरहेका छन् गौरीगंगा नगरपालिका– ६,बनबेहडा कैलालीका युवा महेश जोशी।

पेसाले शिक्षक हुन महेश। महेशले घरको छतमा लोभलाग्दो कौसी खेती गरेर वाहवाही बटुलिरहेका छन्।तिन तल्ला बनेको घरको छतमा उनले बजार बाट विभिन्न प्रकारका क्यारेट ल्याएर तिनमा माटो र प्राङ्गारिक मल भरेर घरको छतभरि तरकारी खेती र दोस्रो तलामा फुलले हरियाली बनाएका छन्।
छतभरि सिमी,हरियो साग,बोडी,सम्दिनी साग लगायतका बोटहरू हरियाली भएको देख्दा बजारमा आवतजावत गर्ने जो कोहिको मन लोभिन्छ। तरकारी सँगै उनले प्राङ्गारिक मल र गँड्यौला मल उत्पादन गर्न थालेका छन्।

छत मै तरकारी खेती थालेपछि महेशको दिनचर्या फेरिएको छ। उनको घरदेखि ५० मिटर दुरी पर बिहान साँझको समयमा चिया खानेको भिड हुन्छ। महेश भने घरको तेस्रो तलाबाट उनीहरूलाई नियाल्दै करेसाबारीमा व्यस्त रहन्छन् र भन्छन् ‘चिया गफ तथा राजनीति गफ गर्नु भन्दा समयको सदुपयोग गर्दै तरकारी खेती गर्नु ठिक लाग्छ ।’
पछिल्लो समय उनको कौसी खेती मान्छेहरूको भिड लाग्ने गरेको छ ।महेश फुर्सदिलो समयको सदुपयोग गर्दै कौसी खेती तर्फ आकर्षित भएका छन्। आफू सँग पर्याप्त जग्गा नभएको र तरकारी पसल सञ्चालन गरेको हुँदा खाली बस्नु भन्दा घरमै केही गरौँ भनेर मेहनत गरेको उनले बताए । उनले कौसी खेतीलाई ब्रान्ड बनाउने योजना रहेको बताए ।
उनको यो कार्यलाई सिको गर्दै टोलका अरूले पनि घरको छत,कौसी र बरन्डालाई करेसाबारीको रूपमा उपयोग गर्ने उनको विश्वास छ ।
कौसी खेतीका लागि आवश्यक प्राङ्गारिक मल कुहिने खालको घरायसी फोहोर व्यवस्थापन गरेर महेशले घरमै तयार गर्छन्। उनले कौसी खेतीका लागि आवश्यक पर्ने मल,माटोको व्यवस्थापन गर्ने र कौसी खेती तालिम दिँदै हिँड्ने योजना बनाएको बताए ।
‘खाली जग्गा र करेसाबारी नभए पनि छतमा तरकारी लगाउन सकिन्छ भने अभियान चलाउँछु उनी भन्छन् ‘हरेक घरका छतमा तरकारी फलाउने हो भने विदेशबाट आयात हुने विषादीयुक्त तरकारी थोरै भए पनि घटाउन सकिन्छ।’

















