धनगढी – कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न परिस्थिति क्रमशः सामान्य बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार राति एक कैदीको मृत्यु र ४७ जना घाइते हुने गरी भएको झडपपछि उत्पन्न परिस्थिति सामान्य बन्दै गएको जनाएको हो । उक्त घटनाको छानबिन गर्न गठित समितिका सदस्य सचिव एवं प्रशासकीय अधिकृत शिवराज जोशीले अवस्था सामान्य बन्दै गएको र घटनाको पुनरावृत्ति हुन नपाओस् भनेर स्थानीय प्रशासनले सुरक्षा व्यवस्था मिलाएको बताए ।

राष्ट्रिय मानवअधिकार आयोगको टोलीको सहजीकरणमा आइतबार कारागारका कर्मचारी र प्रहरीसहितको टोलीले कारागारभित्रका कैदीबन्दीको अवस्था र सङ्ख्या यकिन गरेर फर्किएको उनले बताए । गणनाअनुसार पुरुष राखिएको ब्लक ए मा ३९६ जना, ब्लक बी मा १९८, महिला ब्लकमा ५६ जना रहेका छन् । आइतबार अपरान्ह नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली मानव अधिकार प्रदेश कार्यालय, धनगढीको रोहवरमा कारागारभित्र हतियारसहित प्रवेश गरेका थिए । कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएर कसैलाई प्रवेश गर्न दिएका थिएनन् ।


आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख प्रकाशदत्त भट्टले कारागार भित्र ‘ए’ ब्लक र ‘बि’ ब्लकमा बसेका कैदीबन्दीको अवस्थाबारे जानकारी लिई सङ्ख्या यकिन गर्नुका साथै अन्य जानकारी लिइएको बताए । ‘घटना भएको दिन कूल सात सय कैदीबन्दी रहेकोमा अहिले ३ सय ९८ जना ‘ए’ ब्लकमा, एक सय ९६ जना ‘बी’ ब्लकमा र महिला ब्लकमा ५७ जना रहेको पाइयो,’ निर्देशक भट्टले भने, ‘४८ जना घाइतेको अस्पतालमा उपचाररत छन् ।’ एक जनाको भने शनिबारै मृत्यु भइसकेको छ ।

















