अत्तरिया – जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्ला कारागार कैलालीमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ । एक प्रेस विज्ञप्ती जारी गर्दै प्रशासनले घटनाको पुनरावृत्ति रोकथाममा लागि प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको जनाएको हो ।
प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ ‘यस प्रकारका घटनाको पुनरावृत्ति रोकथाममा लागि तथा कारागारमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम राहिरहोस् भनी, कारागारमा विद्यमान सुरक्षा चुनौतीहरूको समग्र समीक्षा र मूल्याङ्कन गरी जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र कारागार विभागबीच आवश्यक समन्वय, सहयोग र थप प्रभावकारी सुरक्षा व्यवस्था मिलाईएको छ । यस सम्बन्धमा जिल्ला सुरक्षा समिति कैलाली पनि पूर्ण सतर्कता र प्रतिबद्धताका साथ सम्बद्ध निकायहरूलाई आवश्यक निर्देशन तथा सहयोग गरिरहेको छ ।’

विज्ञप्तीमा उक्त घटनाले कारागार भित्र शान्ति सुरक्षामा चुनौती देखिएकाले घटनाको यथार्थ र आवश्यक छानविन गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको उल्लेख छ ।

विज्ञप्तीमा गम्भीर प्रकृतिका घाईते कैदीवन्दीहरुलाई सम्वन्धित अस्पतालको सल्लाहमा सुविधा सम्पन्न अस्पतालसँग समन्वय गरी यथाशीघ्र उपचारका लागि आवश्यक व्यवस्था मिलाउने गरी आवश्यक समन्वय भईरहेको उल्लेख छ ।
गयराती कैदीबन्दीहरूबीच उत्पन्न भएको झडपमा एक जना कैदीबन्दीको मृत्यु (वर्ष ३६ का भरत चौधरी) भएको थियो भने ४७ जना कैदीबन्दीहरु घाइते भएका थिए ।
विज्ञप्तीमा सामान्य घाइते तथा अन्यत्र उपचार आवश्यक पर्ने कैदीबन्दीहरूको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न, कारागार विभागसँग समेत समन्वय भईरहेको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ । ‘गम्भीर प्रकृतिका घाईते कैदीवन्दीहरुलाई सम्वन्धित अस्पतालको सल्लाहमा सुविधा सम्पन्न अस्पतालसँग समन्वय गरी यथाशीघ्र उपचारका लागि आवश्यक व्यवस्था मिलाउने गरी आवश्यक समन्वय भईरहेको व्यहोरा सम्वन्धित सवैमा जानकारी गराईन्छ ।’
















