खाेज्नुहाेस

कैलालीमा चक्कु प्रहार गरेर एक किशोरीको हत्या

Image

धनगढी – कैलालीमा चक्कु प्रहार गरेर एक किशोरीको हत्या गरिएको छ । बर्दगोरिया गाउँपालिका–१ मा रहेको राजधानी सेकुवा एण्ड मःम सेन्टरमा कार्यरत बर्दगोरिया गाउँपालिका–३ कि १७ वर्षीय याचना सेजवालको चक्कु प्रहार गरेर हत्या गरिएको हो । उनीमाथि सोही सेकुवा एण्ड मःम सेन्टरमा काम गर्ने बर्दगोरिया–१ का ३३ वर्षीय निरज साउदले चक्कु प्रहार गरेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

शनिवार बिहान चक्क प्रहारबाट गम्भीर घाइते भएकी याचनाको उपचारका क्रममा धनगढीको निसर्ग हस्पिटल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहले बताए । उनले चक्कु प्रहार गर्ने निरजलाई नियन्त्रणमा लिएको बताए । प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा याचना र निरज बिच प्रेम सम्बन्ध भए पनि विवाद हुँदा हत्या भएको खुल्न आएको जनाएको छ ।

attariya hospital
navjiwan hospital

दुई सन्तानका बुवा समेत रहेका निरजको श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेकाले याचना सँग बिहे गर्ने प्रस्ताव राखिसकेका थिए । १५ दिन अघि मात्रै सेकुवा सेन्टरमा काम गर्न सुरु गरेकी याचना पनि उनको प्रेममा परिसकेकी थिइन ।

सँगै भान्सामा काम गर्ने उनीहरूबिच विवाद भएपछि निरजले याचनाको घाँटीमा नजिकै रहेको चक्कुले प्रहार गरेका थिए । त्यति बेला उनीहरू दुई जना मात्र सेकुवा सेन्टरको भान्छा कोठामा रहेको खुलेको प्रहरीको भनाई छ । चक्कु प्रहारबाट गम्भीर घाइते भएकी याचना सेकुवा सेन्टरको भान्छामै ढलेपछि मात्र काउन्टरमा रहेका होटल सञ्चालकले थाहा पाएका थिए ।

निरजले आफूसँग विवाह गर्ने वाचा गरेकी याचनाले अरूसँग पनि फोनमा कुराकानी गर्ने गरेको थाहा पाएपछि आवेशमा आएर चक्कु प्रहार गरेर हत्या गरेको बयान प्रहरीलाई दिएका छन् ।

– अपडेट गरिएको