अत्तरिया– कैलालीको गोदावरी नगरपालिकामा निर्माण गरिएको एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्रले औपचारिक रुपमा फोहोर संकलन सुरु गरेको छ । आज (शुक्रबार) देखी नगरप्रमुख विरेन्द्र भट्टको उपस्थितीमा पुजापाठ गरि केन्द्रमा फोहोर संकलन गर्ने कार्य सुरु गरिएको हो ।
एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्र तयार भएर सञ्चालन हुनु गोदावरीबासीका लागि एकदमै हर्षको कुरा भएको नगरप्रमुख भट्टले बताए । ‘जुन प्रोजेक्टलाई ड्रिम प्रोजेक्टका रुपमा अघि बढाएका थियौँ, त्यो आज सम्पन्न भएर सञ्चालनको प्रकृयामा गएको छ’ उनले भने ‘यो सबै नगरबासीका लागि हर्षको कुरा हो, यसले स्वच्छ र सफा शहर निर्माण गर्ने कुरामा हामीले विश्वास लिएका छौ ।’ उनले फोहोरलाई मोहरको रुपमा परिणत गरेर नगरपालिकालाई सबल र सक्षम बनाउने सोचका साथ अघि बढ्दै गर्दा उक्त प्रोजेक्ट तयार भएको बताए । उनले सो प्रोजेक्टमा नगरका थुप्रै मान्छेहरुले रोजगारी पाएको समेत बताए ।


हालसम्म नगरपालिकाले ठेक्का प्रकृया मार्फत एक निजि ठेकेदार कम्पनिलाई फोहोरमैला संकलन को जिम्मेवारी दिने गरेको थियो । तर शुक्रबार देखी भने नगरपालिकामा निर्माण भएको एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्रले फोहोर संकलन गर्ने काम गर्ने बताईएको छ ।
नगरप्रमुख भट्टले २ वर्ष सम्म ठेकेदार कम्पनिले सञ्चालनमा ल्याउने र २ वर्षपछि नगरपालिकालाई हस्तान्तरण गरिने बताए । उनले केन्द्र सञ्चालनका लागि दक्ष जनशक्तिको आवश्यकता पर्ने समेत बताए । त्यसका लागि पनि नगरपालिकाले केही कर्मचारीहरु अहिलेदेखी नै निर्माण गरिरहेको उनले बताए । ‘अहिले २ वर्षसम्म निर्माण कम्पनि आफैले यसलाई सञ्चालनमा ल्याउनेछ, २ वर्ष पछि नगरपालिकालाई हस्तान्तरण हुनेछ’ उनले भने ‘तर हस्तान्तरण हुदै गर्दा नगरपालिकालाई पनि दक्ष जनशक्ति चाहिने भएकाले ठेकेदार कम्पनिसँग बसेर काम सिक्ने गरी ८ जना कर्मचारीहरु पनि राखिएको छ ।’
हाल नगरका केही वडा तथा बजारहरुको मात्रै फोहोर उठ्ने गरेकोमा अबदेखी भने सबै वडाहरुमा गएर फोहोर संकलन गरिने नगरप्रमुख भट्टले बताए । उनले नगरबासीलाई घरबाटै सड्ने र नसड्ने गरी घरको फोहोरमैला दुई ठाउँमा छुट्याएर संकलनकर्तालाई दिन आग्रह गरे । उनले फोहोर व्यवस्थापनको ठुलो अध्याय सम्पन्न हुनु नगरबासी सबैका लागि खुसीको कुरा भएको समेत बताए ।
















