धनगढी – टिकापुर नगर प्रमुखको अभिव्यक्तिविरुद्ध आक्रोशित भूमिहीन सुकुम्बासीहरूले बिहीबार टिकापुर नगरपालिका कार्यालयमा घेराउ गर्दै तोडफोडसमेत गरेका छन् ।
आन्दोलनकारीहरूले नगर परिसरमा रहेका गमला फुटाउनुका साथै कार्यालय भवनमा ढुंगामुढा गरेका हुन् । तोडफोडका क्रममा नगरपालिकामा कार्यरत नगर प्रहरी रिमा साउद घाइते भएकी छन् । उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको नगरपालिकाले जनाएको छ ।

टिकापुर बहुमुखी क्याम्पस आसपास बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीहरू नगर प्रमुखको पछिल्लो अभिव्यक्तिले आफूहरूलाई अपमानित बनाएको भन्दै तीन दिनदेखि आन्दोलनरत थिए ।

बिहीबारको प्रदर्शन सुरुमा शान्तिपूर्ण देखिए पनि केही समयपछि आक्रोशित भीडले नियन्त्रण गुमाउँदै नगर कार्यालयमा तोडफोड सुरु गरेको थियो । नगरपालिकाले सार्वजनिक सम्पत्तिमा गरिएको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै कानुन उल्लंघन गर्नेहरूलाई कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ । साथै, विवाद समाधानका लागि वार्ता प्रक्रियाको प्रस्ताव पनि अघि सारिएको जनाएको छ ।
आन्दोलनकारीहरू भने आफूहरूलाई उचित भूमि र आवासको व्यवस्था नगरी अपमानजनक व्यवहार गरिएकाले संघर्षलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् । तनावग्रस्त स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासन र सुरक्षा निकायले थप प्रहरी परिचालन गरेका छन् ।
भूमिहीन सुकुम्बासी, मुक्त कमैया, मुक्त कमलरी, दलित, बाढीपीडित लगायतले आन्दोलन गरेका हुन् । आन्दोलनको सुरुको दिन प्रदर्शन सामुदायिक चोकबाट सुरु भई खडकचोक, नगरपालिका कार्यालय वरिपरि प्रदर्शन गर्दै सम्पन्न गरिएको थियो । सो दिन आन्दोलनकारीहरूले सडकमा टायरसमेत बालेर प्रदर्शन गरेका थिए । टिकापुरका नगर प्रमुख रामलाल डगौराले आफूहरूविरुद्ध अभिव्यक्ति दिएको विषयलाई लिएर पछिल्लो तीन दिनयता आन्दोलित छन् ।

















