अत्तरिया – कैलालीको अत्तरियामा विषादी भेटिएको टमाटर नष्ट गर्नु अघि नै बजारमा पुगेको छ । मंगलबार बिहान अत्तरियाको कृषि उपज थोक बजारमा रहेको निगाली ट्रेड एन्ड सप्लायर्समा राखिएको टमाटरको नमुनामा विषादी भेटिए पनि रिपोर्ट आउनु अघि नै बजारमा बिक्री गरिएको हो ।

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला अत्तरिया अनुसार बिहान ६ बजे उक्त सप्लायर्समा राखिएको टमाटरको नमुना सङ्कलन गरिएको थियो । उक्त टमाटरमा विषादी भेटिएपछि ७ बजे नष्ट गर्न जाँदा सबै बिक्री भएको पाइएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाका प्राविधिक राजेन्द्र प्रसाद भट्टले बताए । उनले उक्त टमाटरमा अर्गानोफस्फेट ७१.६६ रोकावट प्रतिशत भेटिएको थियो । जुन अत्यधिक हानिकारक हो । विषादीको रोकावट प्रतिशत ३५ भन्दा कम मात्रा भए उपभोग योग्य, ३५ देखि ४५ भए केही दिन पर्खेर खान मिल्ने हुन्छ भने ४५ प्रतिशत भन्दा माथि भए नष्ट गर्नुपर्ने हुन्छ ।
उक्त टमाटर रोल्पाको सिमपानीबाट आयात गरिएको पाइएको कृषि बजार व्यवस्थापन समिति अत्तरियाका अध्यक्ष डिल्ली राज जोशीले बताए । उनले प्राविधिकले भन्दा भन्दै पनि रिपोर्ट आउनु अघि टमाटर बजारमा पठाइएको पाइएपछि उक्त टमाटर खोज्न कठिन भएको बताए ।

उनका अनुसार उक्त टमाटर अत्तरिया र धनगढीकै बजारमा फुटकर पसलमा पुगेको बताए । एक ट्रक मै आएको टमाटर विषादी भेटिएपछि पनि बजारमा पुग्नु निकै चिन्ताको विषय भएको उनले बताए ।
अत्तरियामा दैनिक जसो १० वटा तरकारी फलफूलका नमुना सङ्कलन गरेर परीक्षण गरिँदै आएको छ । यसअघि खान अयोग्य विषादी भेटिएको तरकारी फलफूल नष्ट गरिँदै आएको भए पनि मंगलबार बजारमा पुगेपछि सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।
अध्यक्ष जोशीले मंगलबार विषादी भेटिएको टमाटर बजारमा पुगेको बारेमा सम्बन्धित पालिका र सरोकारवालालाई जानकारी गराइसकेको बताए । उनले उक्त जानकारी सबैसमक्ष पुगोस् भनेर कृषि बजार व्यवस्थापन समितिको पेजमा पनि सार्वजनिक गरेको बताए ।


















