खाेज्नुहाेस

गुरही पर्वको अवसरमा कैलालीका दुई स्थानिय तहले दिए बिदा 

Image

धनगढी– थारु समुदायको गुरही पर्वका अवसरमा कैलालीका दुई स्थानिय तहहरुले स्थानिय सार्वजनिक बिदा दिएका छन । मंगलबार परेको गुरही पर्वका अवसरमा धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाले स्थानिय सार्वजनिक बिदा दिएका हुन ।

दुवै पालिकाहरुले सोमबार सूचना जारी गर्दै गुरही पर्वका अवसरमा स्थानिय सार्वजनिक बिदा दिएको जनाएका छन । श्रावण शुक्ल पञ्चमी, (नाग पञ्चमी) का दिन थारु समुदायले गुरही पर्व मनाउने गरेका छन् । गुरही पर्व बालबालिकासँग सम्बन्धित पर्व रहे पनि पछिल्लो समय युवायुवतीसहित सबै उमेरका व्यक्तिले मनाउने गरेका छन् । यो पर्वमा कपडाको गुरहा गुरही (गाइने किरा) बनाएर अपराह्नतिर चउर वा चौबाटोमा सेलाउने चलन रहेको छ । बालिका वा केटीहरूले गुरहीसहित घुघ्री (मकै, केराउ वा चनाको भुजा) फाल्ने गर्दछन् । फालिएको गुरहीलाई सोंता वा लट्ठीले बालक, केटाहरूले ‘दे घुघ्री दे घुघ्री’ भन्दै ठटाउने/पिट्ने चलन रहेको छ । यसलाई स्थानीय भाषामा गुरही अस्रैना भनिन्छ ।

attariya hospital
navjiwan hospital

गुरही पर्व मनाउनाले बालबालिकालाई रोगव्याधीबाट छुटकारा मिल्ने जनविश्वास रहेको छ । यसैगरी, उनीहरूलाई आँखा पाक्ने, ज्वरो आउने जस्ता समस्या नहुने विश्वास गरिन्छ । गुरहीलाई ठटाउनु, पिट्नुको अर्थ रोगव्याधीलाई पिटेर गाउँबाट धपाएको बुझिन्छ ।

हरेक थारु गाउँमा पहिलो पर्वको रूपमा मनाइने गुरही पर्व हो । यो पर्व २०६७ सालबाट धनगढीमा संस्थागत रूपमा पनि मनाउने गर्छन् । नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने उद्देश्यका साथ संस्थागत रूपमा गुरही पर्व मनाउन थालिएको सखी सञ्जालकी अध्यक्ष उन्नति चौधरीले बताइन् । धनगढी—८ मा गुरही चौकमा गुरहीको मूर्ति पनि राखिएको छ । गुरही पर्वको अवसरमा ६ वर्ष यता यो चौकमा भव्य कार्यक्रम पनि आयोजना हुँदै आएको छ ।