दिल्ली (भारत)– भारतमा वृक्षारोपण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रको आयोजनामा महामानव एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिश्वेश्वरप्रसाद (बी.पी) कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्र मन्त्री माननीय नारायण प्रसाद साउँद (एन.पी) रहेका थिए भने विशेष अतिथिका रूपमा पूर्व दूरसञ्चार राज्यमन्त्री गोविन्द बहादुर शाह र नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष एवं नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डे रहेका थिए ।


कार्यक्रम अन्तर्गत दिल्लीस्थित सञ्जय पार्क झिलमिल क्षेत्रमा वातावरणीय सन्तुलन र हरियाली प्रवद्र्धनको उद्देश्यले पीपल, स्वामी, नीम, बर लगायतका विभिन्न वृक्षहरूको वृक्षारोपण गरिएको थियो । सहभागीहरूले हरियाली संरक्षण र वातावरणीय सचेतनामा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
यसैबिच बी.पी. कोइरालाको जीवन, विचार र योगदानमाथि केन्द्रित अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रममा लोकतन्त्र, समाजवाद, मानव अधिकार र प्रवासी भूमिकाबारे गहन छलफल गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता समितिकी उत्तर भारत क्षेत्रकी अध्यक्ष नन्दी कुमारी न्यौपानेले गरेकी थिईन भने सञ्चालन दया राम रोकाले गरेका थिए । कार्यक्रममा बी.पी. कोइरालाको विचारलाई स्मरण गर्दै प्रवासी नेपालीहरूबीच लोकतान्त्रिक चेतना, सामाजिक दायित्व र वातावरणीय उत्तरदायित्वको भावना सुदृढ गर्ने प्रयास गरिएको नेपाली जनसम्पर्क समिति उत्तर भारतले जनाएको छ । समितिले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता समेत गरेको थियो ।


















