सुखड– कैलालीको गौरीगङ्गा नगरपालिका–१० स्थित सरस्वती सामुदायिक वनको अतिक्रमित वन क्षेत्र खाली गराई वृक्षारोपण गरिएको छ । यहाँ अतिक्रमण गरिएको तीन दशमलव नौ हेक्टर क्षेत्र खाली गरि वृक्षारोपण गरिएको हो ।

डिभिजन वन कार्यालय कैलालीले वन कर्मचारी, सुरक्षा निकाय र स्थानीय उपभोक्ताको सहयोगमा अतिक्रमित वन क्षेत्र मंगलबार खाली गराएको थियो । उक्त क्षेत्रमा मंगलबारनै विभिन्न प्रजातिका ६ हजार बिरुवा रोपिएको डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टले जानकारी दिए ।

अतिक्रमण हटाउने कार्यमा डिभिजन वन कार्यालयका कर्मचारी, सशस्त्र वन रक्षक, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो । वृक्षरोपणसँगै अतिक्रमणमुक्त गरिएको उक्त वन क्षेत्रको सुरक्षाका लागि ९८२ मिटर लामो ट्रेन्च नाली निर्माण गरी तार बारसमेत गरिएको डिभिजनल वन अधिकृत भट्टले बताए । असारको अन्तिम साता रातिको समयमा केही व्यक्तिले ट्रयाक्टर प्रयोग गरी उक्त सामुदायिक वनको जमिन जोतेर मास छरेपछि सामुदायिक वन उपभोक्ता समूहले त्यसको प्रतिकार गरेको थियो ।
अतिक्रमणकारीले अवरोध सिर्जना गरेपछि समूहले सव डिभिजन वन कार्यालय, उदासीपुरमार्फत डिभिजन वन कार्यालय, कैलालीलाई अतिक्रमण हटाउन सहयोगका लागि अनुरोध गरेको सरस्वती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पदमबहादुर ऐरले बताए । त्यसपछि असार ३१ गते डिभिजनल वन अधिकृत भट्ट, गौरीगङ्गा नगरपालिका प्रमुख देवीलाल कँडेल, वडा नं १० का अध्यक्षलगायत जनप्रतिनिधि र स्थानीय राजनीतिक दलका प्रतिनिधिको टोलीले अतिक्रमित क्षेत्रको स्थलगत अनुगमन गरेको सव डिभिजन वन कार्यालय उदासीपुरका सहायक वन अधिकृत केशवराज पौडेलले बताए । त्यसै आधारमा सोमबार कैलालीका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको बैठकले अतिक्रमित वन क्षेत्रलाई तत्काल खाली गराई वृक्षारोपण र तारबार गर्ने निर्णय समेत गरेको थियो ।

















