खाेज्नुहाेस

अत्तरियामा असारे झरी सँगै गरिएको कालोपत्रे उप्किन थाल्यो

Image

अत्तरिया – कैलालीको अत्तरियामा असारे झरी सँगै गरिएको कालोपत्रे उप्किन थालेको छ । अत्तरियाको आदर्श गल्लीमा असारको पहिलो सातादेखि सुरु गरिएको कालोपत्रे निर्माण सम्पन्न नहुँदै उप्किन थालेको हो । कालोपत्रे गर्दा गर्दै पानी परेपछि काम रोक्दै कालोपत्रे गर्दै गरिएको उक्त सडक उप्किन थालेपछि स्थानीयले गुणस्तरहीन काम भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

स्थानीय राम प्रसाद जोशी मोटरसाइकल सडकमा रोकेर राख्दा पनि कालोपत्रे धसिरहेको बताए । उनले कालोपत्रेको काम गुणस्तरहीन भएको बताए । ‘२ वर्ष अघि देखि निर्माण गरिएको सडक अहिले असारमा आएर कालोपत्रे गर्दा यस्तो अवस्था भयो’ उनले भने ‘पहिले नै पिच थियो । कुनै कुनै ठाउँमा मात्रै फुटेको थियो । पिच फुटाएर एक डेढ वर्ष अलपत्र छोडेर धुलो खुवाए । अहिले पिच गरे भनेर खुसी भएका थियौ यस्तो भयो । पिच गुणस्तरहीन भयो ।’ उनले पानी परिरहेकै बेला भिजेकै सडकमा कालोपत्रे गरिएकाले यस्तो भएको हुन सक्ने बताए । उनले कालोपत्रेको गुणस्तर जाँच गरिनुपर्ने बताए ।

attariya hospital

स्थानीय पूर्ण प्रसाद चौलागाईले सडकको अवस्था हेर्दा टिकाउ नहुने जस्तो देखिएको भन्दै चिन्ता व्यक्त गरे । ‘लामो समय देखि धुलो खाइरहेका थियौ । अहिले पिच भएपछि खुसी लागेको थियो । अहिले जहाँ निर गाडी राख्यो त्यही निर धसिरहेको छ’ उनले भने ‘यो टिकाउ हुँदैन कि भन्ने लागेर यसको मापदण्ड के हो सम्बन्धित निकायले हेरिदिनु प¥यो भन्ने हाम्रो माग हो ।’

उनले बाइक राख्दा पनि धस्ने सडक बनाउनुको अर्थ नभएको बताए । ‘बाइकको ब्रेक हान्न नमिल्ने, बाइक चलाउन नमिल्ने, बाइक रोक्दा स्ट्यान्डले खाल्डो पर्ने भइरहेको छ’ उनले भने ‘यस्तो रोड बन्नुको के अर्थ । यस्तो अवस्था भएपछि हामीले नबोले को ले बोल्ने अहिले नबोले कहिले बोल्ने ?’

navjiwan hospital

स्थानीय दीपक न्यौपानेले सडक गत वर्ष नै बन्नुपर्ने भए पनि ढिला गरी असारमा काम गरिएको बताए । उनले ठुला सवारी साधन चलाए पिच छिटै बिग्रन सक्ने बताए । ‘यो पनि काम न काजको पिच भयो । यसलाई पिच सडक नै भन्न मिल्ने अवस्था छैन’ उनले भने ‘ठुलो गाडी आयो भने यो पिच एकै दिनमा जाला जस्तो छ ।’

स्थानीय दुर्गा पोखरेले कालोपत्रे गर्दा गर्दै पनि आवाज उठाएको भए पनि बेवास्ता गरिएको बताए । ‘यो सडक पिच हुँदै गर्दा पनि आवाज उठाउँदा साखै वास्ता गरिएन’ उनले भने ‘यो सडक मापदण्ड विपरीत गुणस्तरहीन भएको देखिएको छ । यो राज्यको ढुकुटी रित्याउने काम हो । यसको अनुगमन गरेर त्रुटि भएमा यसलाई सच्याउनु पर्छ ।’

गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मै ठेक्का लगाएको करिब २२५ मिटरको यो सडक निर्माणको जिम्मा कुमार शिशिर कन्स्ट्रक्सनलाई दिइएको थियो । नगरपालिकाले आदर्श गल्ली सहित नगरभित्रका ३६ वटा सडक कालोपत्रे गर्नको लागि एकमुष्ट ठेक्का आह्वान गरेको थियो । ३६ वटा सडकलाई ५ प्याकेजमा छुट्टाएर टेन्डर आह्वान गर्दा ३ वटा निर्माण कम्पनीले सडक कालोपत्रेको जिम्मा पाएका थिए । ५ प्याकेज मध्ये पहिलो, दोस्रो र चौथो खण्डका सडकको निर्माणको जिम्मा कुमार शिशिर कन्स्ट्रक्सनले पाएको थियो ।

जसमा वडा नम्बर १ का १३ सडक, दोस्रो प्याकेज अन्तरगत वडा नम्बर २, ३ र ४ का ७ वटा सडक र चौथो प्याकेज अन्तरगत वडा नम्बर १०, ११ र १२ का सडक कालोपत्रेका लागि ठेक्का सम्झौता गरिएको थियो भने पहिलो प्याकेजको १ किलोमिटर ७०९ मिटर कालोपत्रे गर्न १ करोड ११ लाख ८७ हजार ७८८, दोस्रो प्याकेजको २ किलोमिटर १० मिटर कालोपत्रे गर्न १ करोड १५ लाख ८३ हजार ९७६ र चौथो प्याकेजको १ किलोमिटर ४५७ मिटर सडक कालोपत्रे गर्न ९२ लाख ३८ हजार २७० रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

भिडियो