धनगढी – कैलालीको भजनी नगरपालिका–२ रजवारामा थारु सङ्ग्रहालय पार्क सञ्चालनमा आएको छ । पर्यटन विकास गर्ने उद्देश्यले लोटैया ताल क्षेत्रमा थारु सङ्ग्रहालय पार्क सञ्चालन गरिएको हो ।
थारु सङ्ग्रहालयसहितको पार्क निर्माणका लागि संघीय र प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो ।


संघीय सरकारले ९० लाख र प्रदेश सरकारले १० लाख बजेट दिएपछि सङ्ग्रहालयको संरचना निर्माण भएको वडा अध्यक्ष दुर्गाबहादुर पुनले बताए । उनले वडा कार्यालयलेपनि केही रकम सहयोग गरेको बताए ।
थारु सङ्ग्रहालय पार्कको नगर प्रमुख केवल चौधरी र उपप्रमुख राजुदेवी तिरुवाले एक कार्यक्रमकाबिच उद्घाटन गरेका थिए । त्यस क्रममा प्रमुख चौधरीले प्राकृतिक रुपमा सुन्दर भजनीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नगरपालिकाले विभिन्न कार्यहरु गर्दै आइरहेको बताए ।
उनले थारु सङ्ग्रहालयका घरहरुलाई थारु मोडेलमा बनाउनु पर्ने उल्लेख गरे । थारु सङ्ग्रहालय सहितको पार्क भजनी नगरपालिकाको सान र मान भएको बताए ।

















