धनगढी – दृष्टि फाउन्डेसन धनगढीलाई धनगढी उप–महानगरपालिकाले लगातार तीन वर्षदेखि आर्थिक सहयोग गर्दै आएको पाइएको छ । फाउन्डेसनलाई धनगढी उपमहानगरले सहयोग नगरेको आरोप लागे पनि त्यसमा सत्यता नभएको पाइएको हो । धनगढी उपमहानगरले आर्थिक वर्ष २०७९/८० देखि २०८१/८२ सम्म १५ लाख सहयोग गरेको पाइएको छ । असार २२ गते कैलालीको अत्तरियामा दृष्टि फाउन्डेसनले सञ्चालन गरेको वृद्धाश्रम उद्घाटन गर्दा फाउन्डेसनलाई धनगढी उपमहानगरले सहयोग नगरेको कुरा उठेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गोदावरीका नगर प्रमुख वीरेन्द्र भट्टले फाउन्डेसनकी अध्यक्ष कल्पना भट्टको भनाइलाई उद्धृत गर्दै धनगढीका मेयर शावले सहयोग नै गरेर भनेको सुन्दा पीडा लागेको बताएका थिए । ‘७९ पछि धनगढीको मेयर शावले सहयोग नै गरेन दाइ मलाई भन्दा मलाई पीडा भयो’ मेयर भट्टले भने ‘वास्तवमा गर्नु पर्ने त स्थानीय सरकारले हो । स्थानीय सरकारले त सबैभन्दा पहिले ठुलो अनुभूति दिलाउने हो । हामीले सहयोग नगरेको थाहा पाइसकेपछि हामीले बर्सेनि चार पाँच चार पाँच लाख सहयोग गर्दै आएका छौ ।’


मेयर भट्टले फाउन्डेसनकी अध्यक्ष कल्पना भट्टको भनाइ उद्धृत गर्दै सो भनाइ राखेपनि त्यसमा सत्यता नभएको पाइएको छ । धनगढी उपमहानगरपालिकाको आर्थिक अभिलेखमा २०७९ सालदेखि निरन्तर तीन वर्षसम्म दृष्टि फाउन्डेसनलाई आर्थिक सहयोग गरेको पाइएको छ । जसअनुसार आर्थिक वर्ष २०७९/८० मा पाँच लाख रुपैयाँ सहयोग गरिएको छ । उक्त रकम २०७९ असार २५ गते फाउन्डेसनलाई पाँच लाख रुपैयाँ फाउन्डेसनको खातामा जम्मा भएको अभिलेखमा उल्लेख छ ।
यस्तै आर्थिक वर्ष २०८०/८१ मा पनि उपमहानगरपालिकाले सडक आश्रित मानव र बाल लक्षित विकास कार्यक्रम अन्तर्गत दृष्टि फाउन्डेसनलाई पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो रकम २०८१ साल जेठ २ गते कर कट्टी गरेर फाउन्डेसनको खातामा पाँच लाख रुपैयाँ जम्मा गरिएको छ । खर्च शीर्षक ३११२३ बाट यो रकम सहयोग गरिएको हो । चालु आर्थिक वर्ष २०८१/८२ मा पनि उपमहानगरपालिकाले दृष्टि फाउन्डेसनलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । यो रकम २०८१ साल जेठ ५ गते भुक्तानी गरिएको हो ।
फाउन्डेसनकी अध्यक्ष कल्पना भट्टले भने आफूले पर्खाल बनाउनको लागि कसैले सहयोग नगरेको भनेर गोदावरीका मेयरलाई भनेको स्वीकार गरिन । उनले पर्खालको कुरा मात्रै गरेकाले अन्य सहयोग धनगढीबाट नपाएको नभनेकी बताइन ।

















