खाेज्नुहाेस

नागरिकको जीवनस्तर सुधार गर्न सरकारको प्रयास निरन्तर जारी छ : मन्त्री यादव

Image
लम्कीचुहा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरणको शिलान्यास गर्दै खानेपानी मन्त्री प्रदिप यादव

कैलाली– नेपाल सरकारका खानेपानी मन्त्री प्रदिप यादवले नागरिकको जीवनस्तर सुधार गर्न सरकारले निरन्तर प्रयास गरिरहेको बताएका छन । आईतबार कैलालीको लम्कीचुहा नगरपालिकास्थित लम्की साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था अन्र्तगत लम्कीचुहा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरणको शिलान्यास कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन ।

मन्त्री यादवले सरकारले खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोडेर नागरिकको जीवनस्तर सुधार गर्न निरन्तर प्रयास गरिरहेको बताए । ‘समावेशी विकाससँग जोडेर नागरिकको जीवनस्तर सुधार गर्ने सरकारको प्रयास निरन्तर जारी छ’ उनले भने ‘सरकार जनतासँग काँधमा काँध मिलाएर अगाडि बढ्छ ।’ उनले लम्कीचुहा नगरपालिकामा खानेपानीको निकै समस्या भएका कारण यहाँका नागरिकलाई स्वच्छ, सुरक्षित खानेपानी प्रदान गर्ने उद्देश्यले उक्त आयोजनाको शिलान्यास गरिएको बताए ।

attariya hospital

‘देशका हरेक नागरिकको आधारभूत अधिकार सुरक्षित खानेपानी र सरसफाइ पहुँच सुनिश्चित गर्नु हाम्रो सर्वोच्च प्राथमिकता र दीर्घकालीन नीतिगत प्रतिबद्धता हो,’ उनले भने, ‘यही राष्ट्रिय लक्ष्यलाई सार्थक बनाउँदै हामी अहिले गाउँ–सहर, हिमाल–पहाड–तराईसम्मका सबै बस्तीमा खानेपानी तथा सरसफाइका पूर्वाधार निर्माणमा नयाँ गति, पारदर्शिता र गुणस्तर थपिरहेका छौँ ।’ उक्त आयोजनालाई सफल बनाउनका लागि नेपाल सरकार, लम्की चुहा नगरपालिका र खानेपानी उपभोक्ता समितिको त्रिपक्षीय सहकार्य अपरिहार्य रहेको मन्त्री यादवले बताए । 

navjiwan hospital

कार्यक्रममा बोल्दै लम्की चुहा नगरपालिकाकी नगरप्रमुख सुशीला शाहीले आयोजना सम्पन्न भएपछि स्थानियहरुलाई खानेपानीमा राहत हुने बताईन । उनले आयोजनालाई सफलता पुर्वक सम्पन्न गर्नका लागि सबै पक्षलाई अनुरोध पनि गरिन ।

उक्त आयोजना सम्पन्न भएपछि नगरपालिकाको वडा नं. १, २, ३, ४ र ५ का नागरिकहरुले सेवा पाउने खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले बताए । उनले आयोजनाले कम्तिमा पनि ७५ हजार ५०० बढी नागरिकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने समेत बताए । उनका अनुसार यस आयोजनामा नेपाल सरकारको ७० प्रतिशत, खानेपानी उपभोक्ता समितिको २५ प्रतिशत र लम्की चुहा नगरपालिकाको ५ प्रतिशत लागत साझेदारी रहेको छ ।

उक्त आयोजना निर्माणका लागि यही असार २३ गते सुप्रिम जयमाता जेभी र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयबिच ठेक्का सम्झौता भएको आयोजना प्रमुख अरुणकुमार कर्णले जानकारी दिए । उनले आयोजना निर्माणका लागि निर्माण कम्पनिसँग मूल्य अभिवृद्धि करसहित २९ करोड ४८ लाख ३२ हजार ४९९ मा ठेक्का सम्झौता भएको छ । सो सम्झौता अनुसार निर्माण कम्पनिले २०८५ असार २५ गते भित्र सो आयोजना निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।