खाेज्नुहाेस

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती मनाइँदै

Image

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश र विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्। उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ।

attariya hospital
navjiwan hospital

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका हुन्। विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मेका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनलाई रामायणलाई नेपालीमा रचना गर्न प्रेरित गरेको थियो।

‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो। यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन्। कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए– ‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’।

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ।