अत्तरिया – कैलालीको अत्तरियामा बिक्रीका लागि राखिएको टमाटरमा अत्यधिक विषादीको मात्रा भेटिएको छ । दाङबाट आयात गरेर अत्तरियाको कृषि उपज थोक बजारमा रहेको सिर्जना एन्ड राजेश सप्लायर्समा बिक्रीका लागि राखिएको टमाटरमा ९५ दशमलव ६७ रोकावट प्रतिशत अर्गानोफस्फेटको मात्रा भेटिएको हो ।
विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई अत्तरियामा गरिएको परीक्षणमा रेड लेबलको विषादी भेटिएको प्रयोगशालाका नायव प्राविधिक सहायक राजेन्द्र प्रसाद भट्टले बताए ।


उनले विषादीको रोकावट प्रतिशत ३५ भन्दा कम मात्रा भए उपभोग योग्य, ३५ देखि ४५ भए केही दिन पर्खेर खान मिल्ने हुन्छ भने ४५ प्रतिशत भन्दा माथि भए नष्ट गर्नुपर्ने बताए । उनले बिक्रीका लागि राखिएको ५ सय ६० केजी टमाटरको नमुना परीक्षण गर्दा विषादी भेटिएकाले सबै नष्ट गरिएको बताए ।
उक्त टमाटर गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्ट लगायतका जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको थियो ।


















