अत्तरिया – भारतको बेङ्गलुर सहर कर्नाटकबाट चोरी भएका गहना कैलालीमा फेला परेपछि प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ । मे २८ तारिखमा कर्नाटकका एस. रमेश बाबुको घरमा चोरी भएका गहना कैलालीमा भेटिएपछि प्रहरीले बिहीबार सम्बन्धित धनीलाई बुझाएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भारतीय प्रहरीले कैलाली प्रहरीलाई दिएको सूचनाका आधारमा नेपाली कामदारहरू कालीकोटको नरहरीनाथ गाउँपालिका – २ का ४६ वर्षीय उदय विष्ट र सोही ठाउँका ४५ वर्षीय भैरे विष्ट पक्राउ परेका थिए ।


प्रहरी सहायक निरीक्षक लोक राज जोशीका अनुसार पक्राउ परेका दुवै जनाको हिस्सामा परेको गरगहना कैलालीको लम्की–चुहा नगरपालिका – १ का ३० वर्षीय पदम सुनारलाई बिक्री गरेको खुलेको थियो ।
उनले बिहीबार सुनारलाई बिक्री गरिएका गहना बरामद गरी स्थानीय जन–प्रतिनिधिको रोहबरमा सम्बन्धित धनी एस रमेश बाबुलाई बुझाइएको बताए । प्रहरीले गहना खरिद गर्ने सुनारलाई पनि पक्राउ गरी थप अनुसन्धान गरिहरेको जनाएको छ ।
उनको साथबाट सुन जस्तो देखिने चुरा थान–९, सुन जस्तो देखिन पदार्थ ४६४ ग्राम, सुन जस्तो देखिन साना ठुला टुक्रा थान–२३, २१६ ग्राम सुनका र ४०० ग्राम चाँदीका अन्य विभिन्न किसिमका गरगहनाहरू, भारतीय मुद्रा ४४ हजार १२१, नेपाली रुपैयाँ १२ लाख ९२ हजार ३२० र विभिन्न देशका विदेशी रकम १५ हजार ४६५ बरामद गरिएको प्रहरीले जनाएको छ ।

















