अत्तरिया– प्रहरीले लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले ४ जनालाई लागुऔषध सहित पक्राउ गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कैलालीबाट १ जना र कञ्चनपुरबाट ३ जनालाई पक्राउ गरिएको छ । प्रहरीले कैलालीको मुडा बजार चोक बाट जिल्लाको बर्दगोरिया गाउँपालिका– १ का ३४ वर्षिय अरुण वादीलाई पक्राउ गरेको जनाएको छ । उनलाई मंगलबार १६० मिलिग्राम लागुऔषध खैरो हिरोइन सहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।


यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका– ३ खिरियाका २५ वर्षिय तेज बहादुर कार्की र भीमदत्त नगरपालिका– ४ बस्ने २५ वर्षिय रोहीत भट्टलाई बेलौरी नगरपालिका– १ मटैयाबाट पक्राउ गरिएको प्रहरीको भनाई छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार उनिहरुलाई BUPRONORPHINE ४६ एम्पुल, DIAZEPAM १७ एम्पुल, PROMETHAZINE ४६ एम्पुल लगायतका प्रतिबन्धित लागुऔषध र १ थान सिरेन्ज सहित पक्राउ गरिएको हो ।
यसैगरी भीमदत्त नगरपालिकाकै वडा नं. ३ बस्ने ललित जोशीलाई पनि प्रहरीले लागुऔषध सहित पक्राउ गरेको छ । मंगलबार गोप्य सूचनाको आधारमा जोशीको घर कोठामा खानतलासी गर्दा १.०६ ग्राम लागूऔषध फेला पारेको प्रहरीले बताएको छ । सो विषयमा थप अनुसन्धान भैरहेको बताईएको छ ।
















