धनगढी– कैलालीको थारू बस्तीमा हर्डहुवाको रौनक छाएको छ । रोपाइँ सकिएपछि जिल्लका थारु बस्तीमा अहिले हर्डहुवाको रौनक सुरु भएको हो ।
ढुरिया/असारी पूजा गरेर धान रोपाइँको थालनी गरेका प्रकृति पूजक थारू समुदायले खेतीपातीको काम सकिएको खुसियालीमा हर्डहुवा मनाउने चलन रहेको छ । हिलोमाटो लागेको हलो, जुवा, कृषि उपकरण धोएर त्यसको पूजा गर्दै खानपान गरेर रमाइलो गरी हर्डहुवा मनाइन्छ ।


हर्डहुवा गाउँभरिका परिवारले एकसाथ मनाउने र रमाउने गरेको कैलारी गाउँपालिका–६, बेनौलीका भलमनसा पहलमान चौधरीले बताए । उनले आफ्नो गाउँका २७० घरपरिवारले एकसाथ हर्डहुवा मनाएको जानकारी दिए । वर्षाभरि घामपानीसँग जुधेर हामी खेतीपातीको काम गर्छौं । त्यस क्रममा कतिपय किराफट्याङ्ग्रालाई हाम्रो कारणले हानिनोक्सान भएको छ’ उनले भने ‘खेतीपातीको क्रममा गरेको पाप नाशका लागि हर्डहुवा मनाउने गरिन्छ ।’
थारू समुदायको जीविकोपार्जनको प्रमुख माध्यम खेतीपाती हो । वर्षायाममा घामपानीसँग जुधेर खेतीपातीको काम गर्दा शरीर कमजोर हुन्छ । कमजोर शरीरलाई पुनः शक्ति प्राप्तिका लागि हर्डहुवा मनाउने गरेको थारू बुद्धिजीवी बताउँछन् । वर्षाभर काम गर्दा थाकेको शरीरमा हर्डहुवाले पुनर्ताजगी ल्याउने थारू बुद्धिजीवी माधव थारूको भनाइ छ । त्यसै गरी हर्डहुवा आफन्त, नातागोताबिच भेटघाटको माध्यम पनि बनेको उनको बुझाइ छ । उनले आफ्ना छोरीबेटी, इष्टमित्र, आफन्त, नातागोतालाई डाकेर हर्डहुवा मनाउने चलन रहेको बताए । हर्डहुवामा सुँगुरको मासु, माछालगायत मिठा परिकार खाएर रमाउने चलन छ ।
विगतमा हर्डहुवामा मिठा मिठा परिकार खाएर सजना गीत गाउने, पुराना कथा, चुट्किला सुन्ने कार्यसमेत हुने गर्दथ्यो । तर अचेल आधुनिक मनोरञ्जनका साधनका कारण मौलिक लोकगीत, कथा सुन्ने, सुनाउने कार्य नहुने गरेको उनले बताए । कतिपय कुरा परिवर्तन भए पनि रोपाइँपछि रमाइलो र पुनर्ताजगीका लागि मनाउने हर्डहुवा थारू समुदायका लागि एउटा पर्व जस्तै रहेको बताईएको छ ।
















