अत्तरिया– कैलालीको अत्तरियामा रहेको सुप समावेशी आधारभुत विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । गोदारी नगरपालिका–१० ले शुक्रबार विद्यालयमा अध्ययनरत अपांगता भएका बालबालिकाहरुका लागि शैक्षिक सामाग्री सहयोग गरेको हो ।
विद्यालयमा पुगेर वडाका प्रतिनिधि र कर्मचारीहरुले सहयोग सामग्री हस्तान्तरण गरेका थिए । शुक्रबार औपचारीक कार्यक्रमका बिच सामग्री हस्तान्तरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष विष्णा बोहराको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि वडा नं. १० का कार्यवाहक वडाध्यक्ष शेर बहादुर तामाङ्ग रहेका थिए भने विशिष्ठ अतिथिमा वडासचिव हिक्मत साउँद रहेका थिए ।



कार्यक्रममा बोल्दै कार्यवाहक वडाध्यक्ष तामाङ्गले अपांगता भएका बालबालिकाहरुलाई राखेर व्यवस्थीत तरिकाले विद्यालय सञ्चालन भएको देख्दा अचम्म लागेको बताए । उनले आफू नगरकै जनप्रतिनिधि भएपनि पहिलो पटक आउने मौका मिलेको बताउदै वडाका तर्फबाट अझै पनि विद्यालयलाई सक्दो सहयोग हुने बताए ।
उनले अपांगता भएका बालबालिकाहरुका बाच्ने अधिकार सुनिश्चित गर्न र उनिहरुमा भएको क्षमतालाई बाहिर ल्याउन विद्यालयले अहम भुमिका निर्वाह गरिरहेको बताए । नगरमा मात्रै नभई सुदूरपश्चिममै अपांगता भएका बालबालिकाहरुलाई आवास सहित शिक्षाको सुविधा दिईरहेको सो विद्यालयलाई सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने उनको भनाई छ ।

उनका अनुसार वडा कार्यालयले आगामी आर्थिक वर्षका लागि पनि सो विद्यालयमा आवश्यक सामग्री खरिदका लागि बजेट विनियोजन गरेको छ । वडा कार्यालयले विद्यालयलाई ज्यामेट्रिबक्स, बलपेन, इरेजर, कटर, कपि, चार्ट, कलर लगायतका २५ हजार बराबरका सामग्रीहरु सहयोग गरेको थियो ।