खाेज्नुहाेस

धनगढीका १ हजार घरमा पानी पस्यो, ८ जनाको उद्दार

Image

धनगढी – आइतवार राति देखि लगातार वर्षा हुँदा धनगढी डुबानमा परेको छ । एकैपटक भारी वर्षा हुँदा करिब १ हजार घरमा पानी पसेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । वर्षाले घर डुबानमा परेपछि घरमै फसेका ८ जनाको प्रहरीले उद्धार गरेको छ । धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका ४ जना र धनगढीको बेली गाउँका ४ जना गरी ८ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

उनले अनुसार बेलीका सीताराम रानाको एकतले कच्ची घर डुबानमा परेपछि उनी सहित परिवारका ४ जनालाई उद्धार गरेर नजिकै रहेको आफन्तको घरमा सारिएको छ । त्यसैगरी धनगढी–१३ श्रीलङ्काका एकै परिवारका चार जनाको उद्धार गरेर नजिकैको आधारभूत विद्यालयमा राखिएको छ । सूचना अधिकारी जोशीले गएराति देखिको भारी वर्षाका कारण धनगढी उपमहानगरपालिका वडा नम्बर ३, ४, १३, १, ७ र ११ क्षेत्र प्रभावित भएको बताए ।

attariya hospital
navjiwan hospital

धनगढी बजार क्षेत्रका अधिकांस सडक तथा पसलहरु पनि डुवानमा परेका छन् । लगातारको वर्षा र डुवानका कारण धनगढी बजारका अधिकाश पसल बन्द रहेका छन भने हिँडडुल पनि प्रभावित भएको छ ।

विपद् व्यवस्थापनमा लाग्न निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन र परिचालन हुन निर्देशन दिएका छन् । लगातारको भारी वर्षाको कारण कैलाली, कञ्चनपुरमा डुबानका साथै जलमग्न भएपछि उच्च सतर्कता अपनाउन र परिचालन हुन निर्देशन दिएका हुन ।

मुख्यमन्त्री शाहले बाढीबाट डुबान हुनसक्ने भएकाले विपत्तिको समयमा सुरक्षित भइ बस्न सर्वसाधारण सबैमा अनुरोध गरेका छन् ।