अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका सामुदायिक विद्यालयको एसइई नतिजामा सामान्य सुधार आएको छ । नगरपालिकामा शैक्षिक सत्र २०८० को तुलनामा २०८१ को नतिजामा सामान्य सुधार आएको हो । शैक्षिक सत्र २०८० मा गोदावरीका सामुदायिक विद्यालयमा १७.३६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा २०८१ को एसइईमा २८.७८ प्रतिशत उत्तीर्ण (ग्रेडेड) भएका छन् ।
गोदावरीबाट २०८१ को एसइईमा १ हजार ७२० विद्यार्थी सहभागी भएकोमा ४९५ अर्थात् २८.७८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । २०८० को एसइईमा १ हजार ८०३ विद्यार्थी सहभागी भएकोमा ३१३ विद्यार्थी उत्तीर्ण भएका थिए ।

गोदावरीका २१ सामुदायिक विद्यालयबाट विद्यार्थीले एसइई दिएका थिए । जसमा अत्तरियामा रहेको घण्टेश्वर माविबाट सबैभन्दा बढी प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । घण्टेश्वरबाट ५३ जना विद्यार्थी एसइईमा सहभागी भएकोमा ७७.३६ प्रतिशत अर्थात् ४१ जना विद्यार्थी उत्तीर्ण भएका छन् । नगरमा सबैभन्दा कम प्रतिशत ग्वासी मावि मालाखेतीका विद्यार्थी उत्तीर्ण भएका छन् । ग्वासीबाट १५५ विद्यार्थी एसइईमा सहभागी भएकोमा ११ जना अर्थात् ७.१० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
नगरमा सबैभन्दा बढी विद्यार्थी सङ्ख्या रहेको दुर्गालक्ष्मी नमुना माविबाट ३७५ विद्यार्थी सहभागी भएकोमा ११८ विद्यार्थी अर्थात् ३१.४६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । अर्को धेरै विद्यार्थी सङ्ख्या रहेको सरस्वती मावि गेटाबाट २१३ विद्यार्थी एसइईमा सहभागी भएकोमा ४२.७२ अर्थात् ९१ विद्यार्थी उत्तीर्ण भएका छन् ।
संस्थागत तर्फ पनि १० प्रतिशत बढी उत्तीर्ण

गोदावरीमा रहेका संस्थागत विद्यालयको नतिजामा पनि अघिल्लो वर्षको तुलनामा सुधार भएको छ । शैक्षिक सत्र २०८० मा गोदावरीका १९ संस्थागत विद्यालयका ६७.२८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा शैक्षिक सत्र २०८१ मा १८ विद्यालयका ७७.३० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको गोदावरी नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
शैक्षिक सत्र २०८० मा ७०६ विद्यार्थी सहभागी भएकोमा ४७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने २०८१ मा संस्थागत विद्यालयबाट ६९६ विद्यार्थी सहभागी भएकोमा ७७.३० अर्थात् ५३८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
जसमा सबैभन्दा धेरै दुर्गाज्योती स्याउलेका ९५.६५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । दुर्गाज्योतीबाट १७ जना विद्यार्थी सहभागी भएकोमा १६ जना उत्तीर्ण भएका छन् भने सबैभन्दा कम मोहना मल्टेश्वरी एकेडेमीबाट २६ जना विद्यार्थी एसइईमा सहभागी भएकोमा ८ जना अर्थात् ३० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै संस्थागत तर्फ सबैभन्दा धेरै विद्यार्थी रहेको सैनिक आवासीय विद्यालयबाट १०३ विद्यार्थी सहभागी भएकोमा ९६ अर्थात् ९३.२० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै सत्यवती एकेडेमीबाट ८३ विद्यार्थीले एसइई दिएकोमा ७५ अर्थात् ९०.३६ प्रतिशत र लोटस आई बोर्डिङ स्कुलबाट ७६ विद्यार्थीले एसइई दिएकोमा ६० अर्थात् ७८.९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
शैक्षिक सत्र २०८१ को एसइईमा कैलालीमा ४० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने सुदूरपश्चिममा ५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । देशभरमा भने ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । देशभर नियमिततर्फ परीक्षा दिएका ४ लाख ३८ हजार ८ सय ९६ विद्यार्थीमध्ये २ लाख ७१ हजार २ सय ९९ जना उत्तीर्ण भएका थिए । देशभर उत्तीर्ण दर गत वर्षको भन्दा १३.९४ प्रतिशतले बढेको छ ।
गोदावरीका कुन विद्यालयले कस्तो नतिजा ल्याए


















