धनगढी– सुदूरपश्चिम प्रदेशको तराईमा नल्का (चापाकल) मा पानी सुक्न थालेको छ । रोपाइँका लागि सबैतिर बोरिङमार्फत भूमिगत पानी तान्ने कार्य बढेपछि हाते नल्कामा पानी सुक्न थालेको हो ।
प्रदेशको अस्थायी राजधानी धनगढीसहित विभिन्न पालिकाको धेरैजसो नल्कामा पानी आउनै छोडिसकेको स्थानीयले जनाएका छन् । असार लागेपछि अधिकांश नल्कामा पानी सुकेको धनगढी उपमहानगरपालिका–८ का विष्णुदेवी चौधरीले बताए । नल्काको पानी सुकेर नुहाउन, लत्ताकपडा, भाँडाकुँडा धुन समस्या भएको उनको भनाइ छ ।


नल्का सुक्न थालेपछि खानेपानी सुविधा नपुगेका टोलहरुमा खानेपानीको समस्या हुन थालेको छ । धनगढीमा धेरैजसो स्थानीयले नल्काको पानी खाने गरेका छन् । नल्का सुकेपछि अन्यत्रबाट पानी ल्याएर खानुपरेको धनगढी उपमहानगरपालिका–८ कै निराजन गिरीले बताए । उनले सुगम क्षेत्रमा खानेपानीको समस्या हुन थालेको उल्लेख गरे । नल्कामात्रै हैन, रोपाइँको बेला कतिपय बोरिङमा पनि पानी आउन छोडिसकेको जनाइएको छ । बोरिङ पनि सुक्न थालेपछि कृषकलाई रोपाइँ गर्न समस्या भएको छ ।
तराईमा भूमिगत पानीको सतह घट्दै गएकोले नल्का, बोरिङमा पानी नआउने समस्या बढ्न थालेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डिभिजन प्रमुख गृष्म थापाले बताए । उनले कैलाली, कञ्चनपुरमा यो समस्या बढिरहेको भन्दै थपे ‘कैलालीको कैलारी गाउँपालिकामा झन् धेरै समस्या देखिएको छ ।’
पूर्व–पश्चिम राजमार्गभन्दा दक्षिणतिर भूमिगत पानीको स्रोत राम्रो रहेको मानिन्छ । तर चुरे विनाश, जलवायु परिवर्तन, सिँचाइका लागि पनि भूमिगत पानीकै प्रयोगलगायतका कारणले भूमिगत पानीको सतह घटिरहेको जनाइएको छ । पहिले ३०–३५ मिटर गहिराइमै भूमिगत पानी राम्रो पाइन्थ्यो । तर अचेल त्योभन्दा बढी गहिराइमा मात्रै भूमिगत पानी भेटिने गरेको जनाइएको छ ।
भूमिगत पानीको सतह घटिरहेको र पानी रिचार्ज नभएका कारण सुख्खा यामको दुई/तीन महिना पानी सुक्ने गरेको प्रमुख थापाले बताए । पर्याप्त मात्रामा पानी परेमा भूमिगत पानी रिचार्ज भई पुनः नल्काहरुमा पानी राम्रोसँग आउने उनको भनाइ छ । गोरखापत्र
















