धनगढी – कैलालीमा एक युवती मृत फेला परेकी छन् । धनगढी उपमहानगरपालिका–२ स्थित बैयाबेहडीमा एक घरको कोठाभित्र कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीकी ३० वर्षीया रेणु चौधरी मृत फेला परेकी हुन् ।

घटनाबारे जानकारी प्राप्त भएपछि घटनास्थल पुगेको प्रहरी टोलीले कोठाको ढोका बाहिरबाट ताल्चा लगाइएको अवस्थामा शव भित्र फेला पारेको थियो । मृत्युको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार युवतीको घाँटी र कन्चटमा धारिलो हतियारको चोट छ । ‘घटना शंकास्पद छ,’ डीएसपी सिंहले भने, ‘घटनाको अनुसन्धानका लागि हामीले तालिमप्राप्त कुकुरको पनि प्रयोग गरेका छौं ।’ शवमा गन्ध आएका कारण केही दिनअघि नै उनको हत्या भएको आशंका गरिएको छ ।
डीएसपी सिंहका अनुसार बाहिरबाट ताला लगाएको कोठामा चौधरी मृत फेला परेकी हुन् । चौधरी खानेपानी संस्थान धनगढीमा कार्यालय सहयोगी थिइन् । उनी केही समयदेखि धनगढीमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् ।



















