धनगढी – कैलाली कारागारका कैदीबन्दीको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय (जिप्रका) कैलालीमा कार्यरत प्रहरी नायब निरीक्षक(सई) हरजीत नाथ पक्राउ परेका छन् । डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिस सिंह पालीको मृत्यु प्रकरणमा पीडितले दिएको उजुरीका आधारमा सई नाथलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार सिंहले पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा नाथलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको बताए । मृतककी श्रीमती जानकी साउँदले नाथकै योजनामा कारागारभित्र कुटपिट गरी हत्या गरिएको आरोप लगाउँदै किटानी जाहेरी दिएकी थिइन् । उनले सुरुमा ५ जना विरुद्ध किटानी जाहेरी दिएकोमा पछि सच्याएर नाथ विरुद्ध मात्रै किटानी जाहेरी दिएकी थिइन ।



बैङ्किङ कसुर मुद्दामा १० दिन कैद र २ लाख जरिवाना तोकिएका पाली जेठ २९ गते डडेल्धुराबाट पक्राउ परेका थिए । उनलाई कैलाली प्रहरीले जेठ ३० गते धनगढी ल्याएको थियो । असार १ गते अदालत पेस गरेर पालीलाई सोही दिन कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको थियो ।
उनी असार २ गते राति साढे १० बजे कारागारका बाथरुम नजिकै अचेत अवस्थामा भेटिएपछि सेती प्रादेशिक अस्पताल लगिएकोमा सोही राति मृत्यु भएको थियो । मृतक पालीका शरीरमा चोटपटक समेत देखिएका कारण परिवारले उनको योजनाबद्ध हत्या गरेको आरोप लगाएको छ ।
प्रहरीले किटानी जाहेरी दर्ता गरेर सई नाथलाई नियन्त्रणमा लिएपछि पीडित पक्ष शव बुझ्न तयार भएको छ ।
