अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ८ स्याउलेमा डान्स स्टुडियो खुलेको छ । स्थानीय आशिष बिसीले थ्रिएम नामक डान्स स्टुडियो खोलेका हुन ।
उक्त डान्स स्टुडियोको सोमबार एक औपचारीक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । स्टुडियोका सञ्चालक आशिष बिसीको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका– ८ का वडाध्यक्ष गोबिन्द चौधरी रहेका थिए भने विशिष्ठ अतिथिमा स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवा रहेका थिए ।


कार्यक्रममा बोल्दै वडाध्यक्ष चौधरीले स्याउलेमा नयाँ पसलहरु खुल्नु वडाका लागि राम्रो भएको बताए । उनले सिप सिकेर गरिएको कुनै पनि कार्य असफल नहुने बताउदै उक्त स्टुडियोले पनि सिप सिकाउनमा मद्दत गर्ने बताए ।

कार्यक्रममा स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले स्याउले बजारमा आवश्यक रहेको पसल सञ्चालनमा आएको भन्दै खुसी व्यक्त गरे । उनले डान्स स्टुडियो एउटा प्लेटफर्मका रुपमा रहेको बताए । उनले सो स्टुडियोले स्याउले क्षेत्रका बालबालिकाहरुको अन्तरनिहित प्रतिभालाई बाहिर ल्याउन पनि मद्दत पु¥याउने अपेक्षा रहेको बताए । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
स्टुडियोका सञ्चालक आशिष विसीले स्याउले क्षेत्रका बालबालिकाहरुलाई डान्स सिक्नका लागि अत्तरिया बजार जानुपर्ने बाध्यताको अन्त्य गर्न आफूले डान्स स्टुडियो सञ्चालनमा ल्याएको बताए । उनका अनुसार सो डान्स स्टुडियोमा हिपहप, फ्लोक, लिरिकल, कन्टेम्पोररी, फ्रि स्टाईल, पपिङ लगायतका डान्सका स्टाईलहरु सिकाईनुका साथै जुम्बा, अरोबिक, स्टेचिङ लगायतका फिटनेस सम्बन्धीका कार्यहरु पनि सिकाईनेछन ।


















