अत्तरिया – दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले दलितहरू ठुलो पिडा खेपेर बसेको बताएका छन् । कैलालीको अत्तरियामा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणको क्रममा दलितहरूको अवस्था एकदमै नाजुक पाएको बताए । उनले अब पनि दलित आफै अगाडि बढ्न नसके यो पीडाबाट मुक्ति नपाउने बताए । ‘अहिले आवाज उठेको बेलामा, आवाज चर्किएको बेलामा तपाइहरूले पनि घिउ थप्ने काम गर्नुहोस्’ उनले भने ‘तपाइहरूलाई अन्याय परेको छ । त्यसबाट मुक्ति पाउन सबै एकजुट हुन आवश्यक छ ।’
उनले अब दलित एकजुट भएर २०८४ को निर्वाचनमा जुनी फेर्न तयार हुनुपर्ने बताए । ‘अब पनि दाइ जय नेपाल, कमरेड अभिवादन भनेर हुनेवाला छैन’ उनले भने ‘अब बाचुन्जेल आत्मसम्मान साथ बाच्नको लागि एकजुट बनौँ ।’ उनले आफूमाथि कतिपयले आन्दोलन आधामै छोडेर जाने हो की भन्ने आरोप लगाउने गरेकोमा त्यसो नहुने बताए । ‘कतिपयलाई लागेको छ । यो अभियानमा लागेको छ । आफ्नो पेट भरिने बित्तिकै आफ्नो बाटो लागिहाल्छ भन्ने परेको छ’ उनले भने ‘मलाई त्यस्ता अफर पनि आएका हुन र बोरा भरी लैजा भन्ने पनि अफर आयो । अब म यो आन्दोलनबाट कतै जाँदैन । पाउँदा मैले मात्रै पाउने, मैले छोड्दा सारा दलितले पाउने हुन्छ भने म त संन्यास लिएर हिँडेको छु । मलाई केही चाहिएको छैन ।’


उनले नवराज विकलाई जातीय विभेदका आधारमा मारिएको भए पनि अदालतले जातीय विभेद भएको छैन भनेपछि आफूहरूले अदालतको गेटमै विरोध गरेको बताए । उच्च अदालत सुर्खेतले २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले गरेको जन्मकैदको फैसला सदर गरे पनि जातीय छुवाछुत अभियोगमा भने सबैलाई सफाइ दिएको थियो ।

संयोजक सुनारले जातीय कसुरमा उन्मुक्ति दिएको मुद्दा सर्वोच्चमा दायर गर्ने तयारी भइरहेको बताए । सोमबार जागरण अभियान अघि अत्तरियामा ¥याली निकालिएको थियो । -यालीमा अभियानका संयोजक खगेन्द्र सुनार लगायतको सहभागिता रहेको थियो । अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय मालाखेती अगाडिबाट सुरु भएको -याली नमस्ते होटलको हलमा पुगेर जागरण सभामा परिणत भएको थियो ।
भिडियो

















