खाेज्नुहाेस

धनगढीमा ‘सिनेमा संवाद’ कार्यक्रम हुने

Image

धनगढी – चलचित्र पत्रकार संघ–नेपाल सुदूरपश्चिमको आयोजनामा धनगढीमा ‘सिनेमा संवाद’ कार्यक्रम हुने भएको छ । मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष पुष्पराज जोशीले कार्यक्रमबारे जानकारी दिँदै यही जेठ ३१ गते बहस, संवाद र सांस्कृतिक आदान–प्रदान गर्ने उद्देश्यले बहस कार्यक्रम हुने बताए ।

navjiwan hospital

कार्यक्रममा चलचित्रकर्मी, दर्शक, विद्यार्थी, पत्रकार र कलाकारबीच चलचित्र निर्माण, सन्देश, सामाजिक प्रभाव, बजारका चुनौती र सिनेमा–समाज सम्बन्धबारे गहिरो छलफल गरिने जनाइएको छ । ‘यो केवल चलचित्र हेर्ने कार्यक्रम होइन, यो समाजमा विद्यमान विविध मुद्दाहरूलाई चलचित्रमार्फत प्रस्तुत गर्ने र छलफल गर्ने मञ्च हो,’ अध्यक्ष जोशीले भने । सुदूरपश्चिममा बढ्दो चलचित्रप्रति चासोलाई व्यवस्थित दिशातर्फ लैजान र स्थानीय प्रतिभाहरूलाई अवसर प्रदान गर्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ ।

attariya hospital

‘चलचित्र मनोरञ्जनको साधन मात्र होइन, यो समाजको ऐना हो, जसले यथार्थ, सपना, संघर्ष र सामाजिक परिवर्तनलाई चित्रण गर्छ,’ जोशीले थपे । आजको पुस्ता चलचित्रप्रति आकर्षित भए पनि यसको गहिरो पक्ष, विशेषतः सन्देश, निर्माण प्रक्रिया र सामाजिक प्रभावबारे खुला संवादको अभाव रहेको आयोजकको भनाइ छ । ‘सिनेमा संवाद’ ले यही अभाव पूर्ति गर्ने प्रयास गर्नेछ ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता तथा निर्माता–निर्देशक विराज भट्ट, अभिनेता दिव्य देव पन्त, पुष्प खड्का, अभिनेत्री सुरक्षा पन्त, उपासना सिंह ठकुरीलगायतका कलाकार सहभागी हुनेछन् । सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको यो कार्यक्रम सिनेमा बुझ्न र समाजसँग जोड्न चाहने सबैका लागि सुनौलो अवसर हुने आयोजकले जनाएको छ ।