अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा स्थानीय कृषकको उत्पादनलाई बजारमा प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले कृषि हाटबजार सञ्चालनमा ल्याइएको छ । सोमबार एक औपचारीक कार्यक्रमका बिच कृषि हाटबजार सञ्चालनमा ल्याइएको हो । हाटबजार गोदावरी नगरपालिका र जर्मन सहयोग संस्थाको संयुक्त लगानीमा झण्डै ४२ लाख रुपैयाँको बजेटमा निर्माण सम्पन्न गरिएको थियो । हाटबजारको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले उद्घाटन गरेका छन ।

उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख भट्टले हाटबजारले कृषकको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने बताए । ‘यो हाटबजार नगरवासी किसानहरूको उत्पादनलाई स्थानीय स्तरमै बजारीकरण गर्ने, आत्मनिर्भरता बढाउने र आर्थिक समृद्धिको मार्ग खोल्ने महत्वपूर्ण पाटो हो,’ उनले भने ‘यसबाट उत्पादन र उपभोग बीचको दूरी घट्नेछ, र उपभोक्ताले ताजा तथा सस्तो मूल्यमा स्थानीय उत्पादन खरिद गर्न सक्नेछन् ।’ नगरप्रमुख भट्टले किसानले आफ्ना तरकारी तथा कृषि उपज हाटबजारमा आफैं बिक्री गर्न सक्ने भएकाले बिचौलियाबाट छुटकारा पाइने बताए ।


हाटबजार सञ्चालनसँगै कृषकको उत्पादकत्वमा वृद्धि, आय आर्जनको स्रोतमा विस्तार र आत्मसम्मान पूर्वक कृषिमा लाग्ने वातावरण बन्ने अपेक्षा गरिएको छ । ताजा, सुरक्षित र विषादीमुक्त तरकारीको पहुँच स्थानीय उपभोक्ता सम्म सहज रूपमा पु¥याउने लक्ष्य लिइएको छ ।