अत्तरिया– करिब ५ महिनाअघि निधन भएका कैलालीको गोदावरी नगरपालिका– २ का युवा बलराम महराको परिवारलाई मृत्यु दावी भुक्तानी हस्तान्तरण गरिएको छ । सिटीजन्स लाईफ इन्स्योरेन्स लिमिटेड लम्की शाखाले मृतक महराको परिवारलाई मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको हो ।
सोमबार एक कार्यक्रमका बिच मृतक महराको परिवारलाई ५ लाख ५० हजार को मृत्यु दावी भुक्तानी दिईएको थियो । गोदावरी नगरपालिका– २ का वडासदस्य डबल बहादुर साउँद तथा कम्पनिका लम्की शाखा प्रमुख पुर्ण प्रसाद घोडासैनीले मृतक महराको परिवारलाई मृत्यु दावी भुक्तानी वाफतको रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।


चेक हस्तान्तरण पश्चात बोल्दै वडासदस्य साउँदले कम्पनिले मृतकका परिवारलाई प्रदान गरेको रकमले थोरै भएपनि राहत हुने विस्वास व्यक्त गरे । उनले महराको निधनले वडाले एउटा सक्षम र योग्य युवालाई गुमाएको बताए । उनले देशमा बिमाका नाममा विभिन्न ठगीका घटनाहरु भैरहदा सिटीजन लाइफ इन्स्योरेन्स सहकारीले घरमै आएर मृत्यु दावी भुक्तानी गरेको भन्दै कम्पनिलाई धन्यवाद ज्ञापन गरे ।
कम्पनिका लम्की शाखा प्रमुख पुर्ण प्रसाद घोडासैनीले मृतक महराले जिवनबिमा गरेको करिब ६ महिना भएको बताए । बिमा गरेको एक महिनाको अवधीमै विमितको मृत्यु भएकाले आवश्यक कागजी प्रकृया मिलाउन केही समय लागेको उनले बताए । मृत्यु दावी भुक्तानी बराबरको ५ लाख रकम र काजक्रिया खर्चवाफतको ५० हजार गरी जम्मा ५ लाख ५० हजार रुपैया मृतकको परिवारलाई प्रदान गरिएको समेत उनले बताए ।
मृतकको परिवारले अबको १९ वर्षपछि पुनः ५ लाख रुपैया पाउने उनको भनाई छ । ‘उहाँले ५ लाखको बिमा गर्नुभएको थियो’ उनले भने ‘अहिले उहाँको मृत्यु दावी भुक्तानी वाफतको रकम ५ लाख रुपैया दिईएको हो, यहाँको २० वर्षको बिमा भएकाले अबको १९ वर्ष पछि पुनः ५ लाख रुपैया उहाँहरुले पाउनुहुन्छ ।’ मृत्यु दावी भुक्तानी कार्यक्रममा कर्णाली रिभर यातायात प्रा.लि.का समितिका पदाधिकारी तथा कर्मचारीहरुको पनि सहभागीता रहेको थियो ।
















